शान्तिका लागि नोवेल पुरुस्कार विजयी पाकिस्तानी युवती मलाला युसुफजाइ तालिवान लडाकूहरुले आफूलाई गोली हाने यता पहिलो पटक स्वदेश फर्केकी छिन् । हाल २० वर्ष उमेर टेकेकी मलाला मानवअधिकारवादी अभियन्ता हुन् । महिला तथा बालिका शिक्षा अभियानमा लागेकै कारण सन् २०१२ मा उनको टाउकोमा गोली हानिएको थियो ।
पाकिस्तानका प्रधानमन्त्रीको कार्यालयमा भावुक बन्दै भाषण दिने क्रममा मलालाले बिना कुनै डर त्रास पाकिस्तान फर्कने आफ्नो सपना रहेको र सुरक्षाको कारण आफ्नो यस आकस्मिक भ्रमणलाई गोप्य राखिएको बताएकी छिन् ।
पाकिस्तानी सरकारी टेलिभिजनले कडा सुरक्षा प्रवन्धबिच राजधानी इस्लामावाद स्थित बेनजिर भुटो अन्तर्राष्ट्रिय विमानस्थललमा आफ्ना अभिभावकसंग आइपुगेको देखाएको छ । इस्लामावादको प्रधानमन्त्री कार्यालयबाट प्रत्यक्ष प्रशारित कार्यक्रममा मलालाले भनेकी छिन्, ‘सन्त्रास रहित शान्त पाकिस्तानमा फर्कने मेरो लामो समयअघि देखिको सपना थियो । म पाकिस्तानका सडक गल्लीमा ढुक्क भएर हिंड्न, मानिसहरुसंग भेट्न र कुरा गर्न चाहन्थे ।
र, म आफ्नो पुरानै घरमा पुग्ने विचार गरिहन्थें । आज त्यो सपना विपनामा परिणत भएमो छ । म तपाईंहरु प्रति निकै आभारी छुँ । स्थानिय संचारमाध्यमले उनको यो भ्रमण चार दिनको रहेको र उनका साथमा मलाला कोष समुहका अधिकारीहरु पनि रहेको जनाएको छ ।
तर उनी आफ्नो परिवारको गृहनगर स्वाटमा पुग्ने निश्चित भइनसकेको बताइएको छ । कुनै समय राष्ट्रको उत्तरपुर्वी ग्रामिण क्षेत्रमा रहेको स्वाट कुनै समय लडाकूहरुको बलियो पकड रहेको थियो ।
मलालाको स्वदेश फिर्तीलाई लिएर थुप्रै व्यक्तिले ट्विटर मार्फत उनलाई स्वागत गरेका छन् । मलाला माथि गोली प्रहार हुँदा विश्वले नै भत्सर्ना गरेको थियो । केहि वर्ष यता पाकिस्तानमा लडाकूहरुबाट हुने आक्रमणमा तुलनात्मक रुपमा कमि आएको छ ।
तर पाकिस्तान भित्रै मलालालाई आलोचना गर्नेहरुले उनी पश्चिमी एजेन्ट भएको र उनीमाथि वास्तवमा अमेरिकी केन्द्रीय गुप्तचर निकाय सीआईएले नै गोली हानेको दावी गर्ने गरेका छन् । १५ वर्षको उमेरमा उनी माथि स्कुल बसमा आक्रमण भएको थियो ।