संसद र राष्ट्रपति भवन सामु विस्फोट

0

सोमालियाको राजधानी मोगादिसुस्थित संसद् भवन र गृह मन्त्रालयनजिकको एउटा जाँच चौकीमा आइतबार एक जना व्यक्तिले आत्मघाती कार बम विस्फोट गराउँदा तीन जना मानिसको ज्यान गएको एम्वुलेन्स सेवाले जनाएको छ ।
मोगादिसुका प्रहरी अधिकारी नुर मोहमदले एकदमै कडा सुरक्षा प्रवन्ध रहेको सायिद्का जांचचौकीमा सो विस्फोट भएको रोयटर्सलाई जानकारी गराएका छन् । आमिन एम्वुलेन्स सेवाका निर्देशक अब्दिकादिर अब्दिरहमानले यस आक्रमणमा आक्रमणकारी युवकको पनि ज्यान गएको तथा अन्य एकजना गम्भीर घाइते भएको बताएका छन् ।
अन्तरराष्ट्रिय आतंककारी समुह अल कायदासंग आवद्ध अल सवाव समुहले यस घटनाको औपचारिक जिम्मेवारी लिएका छन् । सोमालियाको पश्चिम समर्थित संघीय सरकारलाई अपदस्थ गर्ने उद्देश्यले अल सवावले वारम्वार मोगादिसुमा बम आक्रमण गर्ने गरेको छ ।
अल सवावको सैनिक विभागका प्रवक्ता अब्दियासिस अवु मुसावले गृह मन्त्रालय, राष्ट्रपति र संसद् भवननजिकै आक्रमण गरी सरकार माथि प्रत्यक्ष दवाव दिन खोजेको बताएका छन् । साथै उनले यस घटनामा १३ जना सरकारी सैनिक मारिएको पनि दावी गरेका छन् ।