रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यदि रसियामाथि नै खतराको आभास भएको स्थितिमा आणविक हतियार प्रयोग गरी विश्व ध्वस्त गरिदिने चेतावनी शनिबार दिएका छन्।
पश्चिम जगत्सँग आणविक तनाव निकै बढिरहेको वर्तमान परिप्रेक्षमा पुटिनले रसियाको अस्तित्व नै खतरामा पुगेको अवस्थामा मात्र आफूले सो कदम चाल्ने बताएका छन्। रसियाको सरकारी टेलिभिजनबाट प्रसारित उनको २ घण्टा लामो वृत्तचित्रमा रसियालाई कसैले आणविक क्षेप्यास्त्रको खतरा महसुस गराएको अवस्थामा आफूले सेनालाई सो आदेश दिन सक्ने बताएका छन्।
उनले वल्र्ड अर्डर २०१८ का आयोजकलाई यदि कसैबाट रसिया ध्वस्त पार्ने निर्णय भएको खण्डमा जवाफी कारबाहीका रूपमा रसियाले पनि आणविक हतियार प्रयोग गरी विश्व नै ध्वस्त पार्ने कानुनी अधिकार रसियासँग पनि रहेको बताएका छन्। पुटिनले भनेका छन्– ‘मानव जगत्का लागि यो विश्वव्यापी विध्वंश नै हुन सक्छ, तर म एक रुसी नागरिक र रसियाको राष्ट्राध्यक्षको हैसियतले तपाईंहरूलाई सोध्न चाहन्छु– ‘यदि विश्वमा रसिया नै छैन भने हामीलाई विश्वको आवश्यकता नै किन रह्यो ?’ रसिया र अमेरिकाबीच महिनौंसम्म भएको सैनिक शक्तिको नाराबाजीपछि पुटिनको यो प्रतिक्रिया बाहिर आएको हो। आजको नेपाल समाचारपत्रमा खबर छ ।
यसैबीच रसियाले एकै प्रहारमा पूरा राष्ट्र ध्वस्त पार्न सक्ने तथा १० थर्मो आणविक हतियार बोक्न सक्षम ‘सटान–२’ क्षेप्यास्त्रको काम थाल्न तयार रहेको पनि जानकारी दिएको छ। सन् २०१६ मा पुटिनले ४ करोड रुसी र २ लाख उद्धार विशेषज्ञ टोली सम्मिलित आणविक युद्ध अभ्यास गर्न आदेश दिएका थिए। (एजेन्सी)
