उत्तर र दक्षिण कोरियाबिचको आपसी तनाव घटाउने पछिल्लो प्रयास स्वरुप दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले बुधबार केही निश्चित शर्तअन्तर्गत आफू उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँग भेट्न इच्छुक रहेको बताएका छन् ।
हालै मात्र यी दुवै राष्ट्रले आगामी महिना दक्षिण कोरियामा आयोजना हुन गइरहेको हिउँदे ओलम्पिक्स गेम्समा आपसी सहयोगका लागि उच्चस्तरीय वार्ता गर्न सहमति जनाएका थिए । हिजो राष्ट्रपति मूनले उत्तर कोरिया विवादास्पद आणविक कार्यक्रम बन्द गर्नका लागि आफू किमसँग वार्ता गर्न तयार रहेको सरकारी सञ्चारमाध्यमलाई बताएका छन् ।
तर उनले यस्ते महत्वपूर्ण र ऐतिहासिक वार्ता थालनी हुनु अघि नै त्यसको सफलताको ग्यारेन्टी हुनुपर्नेमा जोड दिएका छन् । मूनले आफूले उत्तर कोरियालाई आणविक समस्या समाधानका लागि थप वार्ताको आह्वान गर्न तयार रहेको बताएका छन् ।
उत्तर कोरियाले सो वार्ताको दौरान फेब्रुअरी ९ देखि २५ सम्म हुने ओलम्पिक्समा आफ्नो खेलाडि टोली पठाउने र आपसी सिमाक्षेत्रको तनाव हटाउन अर्को वार्ता गर्ने सहमति जनाएको थियो ।
राष्ट्रपति मुनले सो आणविक विवाद सुल्झाउन उत्तर कोरियासँग आपसी सहयोगका लागि समेत प्रस्ताव राख्ने बताएका छन् । उत्तर कोरियाको पछिल्लो आणविक र अन्तर महादेसीय क्षेप्यास्त्र परिक्षणको कारण युद्धकै संभावना जन्मेको थियो ।