दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिप ः नेपाल र भारत उपाधीका लागि भिड्दै

0

काठमाडौंमा जारी दक्षिण एसियाली यु–२१ ब्याडमिन्टन च्याम्पियनसिपको मिक्स टिम ईभेन्ट्समा नेपाल र भारत उपाधीका लागि भिड्ने छन् ।

नेपालले सेमिफाइनलमा बंगलादेशलाई ३–० को जित निकाल्दै उपाधी नजिक पुगेको हो । नेपालका नविन श्रेष्ठले पुरुष एकलमा बंगलादेशका गौरव सिंहलाई २१–१३, १८–२१ र २१–१८ ले पराजित गरे ।

यस्तै महिलातर्फ रशिला महर्जनले बंगलादेशकी फारविन विन्ते ईमडाडलाई २१–८, २१–५ ले तथा नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीले बंगलादेशका गौरव सिंह र मंगल सिंहको जोडीलाई २१–१५, २१–१६ ले विजयी भएका हुन् ।

यसै गरी उपाधीका लागि नेपालले भारतको सामना गर्ने भएको छ । यस अघि नेपालले मालदिभ्सलाई ४–१ ले पराजित गर्दै समूह ‘बी’को विजेता हुँदै बंगलादेशको सामना गरेको थियो । नेपाल यस स्पर्धामा अघिल्लो संस्करणको उप–विजेता हो ।

यस्तै अर्को सेमिफाइनलमा भारतले श्रीलङ्कालाई ३–० ले नै पराजित गर्दै फाइनलमा नेपालको सामना गर्ने भएको हो । भारतले पुरुष एकलमा प्रियान्सु रजावतले श्रीलङ्काका रन्थुस्का सासिन्धुलाई २३–२५, २१–१२ र २१–१७ ले हराए ।

यस्तै महिला एकलमा भारतकी मालविका बंसोदले श्रीलङ्काकी दिल्मी दियासलाई २१–१२, २१–१४ ले तथा पुरुष युगलमा भारतका बिष्णुबर्दन गौड र ध्रुव रावतको जोडीले श्रीलङ्काका चामथ दियास र चिराथ ईलुपेरुमाचीको जोडीलाई १९–२१, २१–९ र २१–१० ले पराजित गर्दै फाईनल यात्रा तय गरेको हो । भारत अघिल्लो संस्करणको विजेता हो ।