बार्सिलोनाका लेजेण्ड आन्द्रेस इनिस्टा जापानको शीर्ष लिग क्लब भिसेल कोबेमा आबद्ध भएका छन् ।
उनले भिसेल कोबेमा तीन वर्षका लागि सम्झौता गरेका छन् । उनको सम्झौताको वाषिर्क रकम ३० मिलियन डलर रहेको छ ।
सिजनको अन्त्यसँगै बार्सिलोनाबाट बिदा भएका आन्द्रेसका साथी हिरोसी मिकितानीसँगै जापान गएका हुन् । हिरोसी जापानको शीर्ष लिगको क्लब भिसेल कोबेका मालिकका साथै बार्सिलोनाको मुख्य प्रायोजक राकुटेनका सीईओ पनि हुन् ।
विश्वका धेरै ठाउँबाट विभिन्न प्रस्ताव आइरहेको भए पनि जापानी क्लबले देखाएको भरोसा र विश्वासले गर्दा आफू जापान आएको उनले बताएका छन् । ‘मसँग धेरै नै प्रस्तावहरु आएका थिए, धेरै क्लबले बोलाएका थिए । मैले भिसेल कोबे रोजें किनभने यहाँको प्रस्ताव चाखलाग्दो पाएँ’ इनिस्टाले भनेका छन् ।
हिरोसी मिकितानीले इनिस्टालाई ल्याएर क्लबका लागि मात्र नभइ जापानकै फुटबल विकासका लागि सहयोग हुने विश्वास व्यक्त गरेका छन् । ३४ वर्षका मिडफिल्डर इनिस्टाले बार्सिलोनासँगको २२ वर्षको यात्रा यो सिजन सकिएसँगै अन्त्य गरेका थिए । जापानी क्लब भिसेल कोबे जे-लिगमा १५ खेल सकिँदा छैटौं स्थानमा छ ।
इनिस्टा बार्सिलोनाको बिदाइपछि चाइनिज सुपर लिगमा आबद्ध हुने, इंग्लिस पि्रमियर लिग क्लब म्यानचेस्टर सिटीमा सहायक प्रशिक्षक र खेलाडीका रुपमा रहने खबर आइरहेको भए पनि जापान गएर सबैलाई चकित पारेका छन् ।