काठमाडौं । राकेश महर्जन र अन्जु तामाङ दोस्रो आइकेकेएफ नेपाल क्योकुशिनकाई कराते राष्ट्रिय च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।
शनिबार त्रिपुरश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खुला पुरुषतर्पmको फाइनलमा राकेशले दीपेश महर्जनलाई हराउँदै च्याम्पियन भए । सोही विधाको तेस्रो स्थानको लागि भएको खेलमा सन्तोषकुमार लामाले सुवास गुरुङलाई स्तब्ध बनाए । नेपाल आइकेकेइफ क्योकुशिन कराते संघको आयोजनामा भएको महिला ५० केजीको फाइनलमा अन्जुले रितु घलानलाई स्तब्ध बनाउँदै च्याम्पियन भइन् । तेस्रो स्थानका लागि भएको खेलमा बुद्धिमाया घलानले सुस्मिता नगरकोटीलाई स्तब्ध पारिन् । पुरुष ५५ केजीमुनि महेश भुजेल च्याम्पियन भए ।
उनले फाइनलमा एक्का भुलनलाई हराएका थिए । सरोज तामाङले सन्दीप काप्रीलाई हराउँदै तेस्रो स्थान सुरक्षित गरे । पुरुष ३०–४० केजी तौलसमूहमा सुबील महर्जन च्याम्पियन भए । फाइनलमा सुबीलले रबिन रेग्मीलाई स्तब्ध बनाएका थिए । तेस्रो स्थानका लागि भएको खेलमा करण देउलाले विकास शाहीलाई पराजित गरे । प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय नगद पुरस्कार, शिल्ड र मेडल प्राप्त गरे । विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष लामा टेन्डि शेर्पा, संघका अध्यक्ष मिलन गुरुङ, उपाध्यक्ष राजिव श्रेष्ठ, महासचिव प्रेमनाथ श्रेष्ठ, समाजसेवी शारदा प्रजापती र संघकका सल्लाहकारद्वय राम श्रेष्ठ बोस र श्याम कार्की लगायतले पुरस्कृत गरे ।
समापनको अवसरमा संघका महासविच प्रेमनाथ श्रेष्ठलाई राखेप उपाध्यक्ष शेर्पा र संघका अध्यक्ष मिलन गुरुङले विश्व आइकेकेएफ कराते महासंघको स्पार्टस् कमिसनर हुन सफल भएकोमा बधाईसहित सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा राखेप उपाध्यक्ष शेर्पाले संघले आफ्नै विशेष पहल ठुलो कार्य गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए । प्रतियोगितामा पुरुषमा ३ र महिलामा १ स्पर्धा समावेश गरिएको थियो ।