गजेन्द्र राईले पुरुष तथा सानुमाया कार्कीले महिलामा पाँचौं पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पाँचौं राष्ट्रिय खुला क्रसकन्ट्री च्याम्पियनसिपमा शनिबार स्वर्ण जितेका छन् ।
आठ किलोमिटर दूरी गजेन्द्रले २५ मिनेट १२ सेकेन्डमा पूरा गरे । कल्याण बानियाँ दोश्रो र टीकाराज कट्वाल तेश्रो भए । सोही दूरी तय गर्न सानुमायाले २७ मिनेट ०८ सेकेन्ड समय खर्चिन् । रेसु बस्नेत दोश्रो र सरिता वासी तेश्रो बने । दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी त्रिभूवन आर्मी क्लबका हुन् । शीर्ष तीन स्थान हात पार्नेले जनही १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।
राष्ट्रिय खेलकुद परिषद्को सहयोगमा पर्वतीय खेलकुद महासंघ नेपालद्वारा आयोजित प्रतियोगिताको छात्रमा नेपाल राष्ट्रियका सुजन राईले स्वर्ण, विद्या विकासका मनोज महतले रजत तथा विद्या आर्जनका रोहित विशंखेले कांस्य जिते । छात्रामा बाल गीताञ्जलीकी सरिता कार्की पहिलो, मनकामनाकी पुजन पाण्डे दोश्रो र शिक्षालय नेपालकी निशा राउत तेश्रो भए । पहिलोदेखि तेश्रो हुनेले क्रमशः ८ हजार, ४ हजार र २ हजार नगद पुरस्कार पाए । छात्र÷छात्राको प्रतिस्पर्धा ३ किलोमिटर दूरीको थियो ।