आईपीएलः प्लेअफमा पुग्न मुस्किल बैंग्लोर, सनराइजर्स हैदरावाद ५ रनले विजयी

0

इण्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पाँच रनले हराएको छ ।

१४७ रनको लक्ष्य पछ्याएको बैंग्लोर निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४१ रनमा समेटियो । खेलको अन्तिम बलमा भुवनेश्वर कुमारले कोलिन डि ग्रान्डहोमलाई ३३ रनको स्कोरमा बोल्ड गरे । मन्दिप सिंह २१ रन बनाएर आउट भए ।राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार राति टस हारेर व्याटिङ गरेको हैदरावादले कप्तान केन विलियम्सनको ५६ रनको मद्दतमा १४६ रन बनाएको थियो । उनी प्लेयर अफ दि म्याच पनि भए ।

बैंगलोरका लागि कप्तान बिराट कोहलीले सर्वाधिक ३९ रन बनाए । उनलाई शाकिब अल हसनको बलमा युसुफ पठानले आउट गरे । एबी डिभिलियर्सलाई पनि पाँच रनमा शाकिबले नै आउट गरे ।

पहिलो पटक आईपीएल खेलिरहेका मोइन अलीलाई १० रनको स्कोरमा सिद्धार्थ कौलले विकेटकिपर ऋद्धिमान साहको हातबाट क्याचआउट गरे ।

पार्थिव पटेल १३ बलमा २० रन बनाएर शाकिब अल हसनको बलमा एलबीडब्लुको धरापमा परे । मनन बोहरालाई सन्दिप शर्माले बोल्ड गरे । मननले ८ रन बनाए ।

हैदरावादका लागि सन्दिप शर्मा, भुवनेश्वर कुमार, सिद्धार्थ कौल र राशिद खानले एक(एक विकेट लिए । तर, शाकिब हल हसनले दुई खेलाडीलाई पेभेलियन फर्काउन सफल भए ।