उत्तर र दक्षिण कोरियाली नेताहरुबीच वार्ता आज

0

दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाका नेता किम जोङ उनबीच आज भेटवार्ता हुने छ ।

कयौं वर्षपछि दुई देशका नेताबीच हुन लागेको यो पहिलो भेटवार्ता हो र यसमा आपसी मतभेद सल्टाउने प्रयास हुनेछ । यसअघि महिनौंसम्म दुई देशबीच सम्बन्ध सुधार्ने सम्भावनाको प्रयास भइरहेको थियो । यो भेटवार्तापछि उत्तर कोरिया र अमेरिकाबीच पनि महत्वपूर्ण शिखर वार्ता हुने कार्यक्रम छ ।

यस सिखर बैठकमा कोरियाली प्रायद्विपलाई परमाणु निःशस्त्रीकरण र शान्ति स्थापना गर्नेदेखि अन्य विभिन्न मुद्दामा चर्चा हुनेछ । तर उत्तर कोरिया आफ्नो परमाणु हतियार परित्याग गर्न सहमत नहुने विशेषज्ञहरुले अनुमान गरेका छन् । यद्यपी दक्षिण कोरियासँग आज हुने र अमेरिकासँग हुने वार्ता यसै मुद्दामा केन्द्रित रहने प्रष्ट छ ।

उत्तर कोरियाको परमाणु तथा क्षेप्यास्त्र कार्यक्रमका कारण दक्षिण कोरिया र अमेरिकासँग उसको तनावपूर्ण सम्बन्ध उत्कर्षमा रहेको बेला नाटकीय रुपमा यो वार्ता अगाडी आएको हो । यो सन् २००७ पछि दुई देशका नेताबीच हुन लागेको पहिलो वार्ता हो । यो भेटवार्ता टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने छ । यसअघि उत्तर कोरियाली नेता किमले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।

किमका पिता तथा उत्तर कोरियाली पूर्व राष्ट्रपति किम जोङ इलले आफ्नो कार्यकालमा दुई पटक दक्षिण कोरियाली राष्ट्रपतिसँग भेटेका थिए । उनले सन् २००० मा किम डे जुङसँग र सन् २००७ मा रो मु ह्युनसँग भेटवार्ता गरेका थिए । (एजेन्सी)