दक्षिण चीनको एउटा नदीमा पानीको बहावको कडा धारका कारण एउटा ड्रागन डुँगा पल्टिँदा १७ जना मानिसको ज्यान गएको छ । मानिसहरुले खियाउँदै गइरहेको लामो खालको डुँगा शनिवार पल्टिएको हो ।
सो दुर्घटना हुँदा घटनास्थलमा आइपुगेको अर्को एउटा डुँगा पनि पल्टिएको सरकारी टेलिभिजनले जनाएको छ । गुलिन शहरको एउटा नदीमा डुँगा पल्टिँदा झण्डै ६० जना मानिस नदीमा खसेका थिए ।
रातको समयमा तत्काल ४० जनालाई सकुशल उद्धार गरिएको थियो । आधिकारिक समाचार निकाय सिन्ह्वाले करिव दुई सयजना उद्धारकर्मी परिचालन गरिएको जनाएको छ ।
सरकारी टेलिभिजन सिसिटीभीले नदीको भुमरीमा परेर डुँगा दुर्घटना भएको जनाएको छ । संचारमाध्यमले डुँगामा सवार अधिकांशले लाइफ ज्याकेट नलगाएको जनाएको छ ।
उक्त ड्रागन डुँगा दौड प्रतियोगिता आयोजना गर्ने २ जना ब्यक्तिलाई प्रहरीले गिरफतार गरेको छ । तिनीहरुलाई प्रहरीलाई जानकारी नै नदिई सो प्रतियोगिता आयोजना गरेको अभियोग लगाइएको छ ।(एजेन्सी)