प्रथम उपत्यकाव्यापी योग खेलकुद प्रतियोगिताको पुरुषमा किरण न्यौपाने र महिलामा करिशमा घिमिरे आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
काभ्रे जिल्ला योग खेलकुद संघद्वारा आयोजित प्रतियोगिताको ५० वर्षमाथि पुरुषमा कृष्णप्रसाद नराल र महिलामा अस्टलक्ष्मी श्रेष्ठले स्वर्ण जिते ।
पुरुष टिम स्पर्धाको १८–४९ वर्ष उमेरसमूहमा महेन्द्र राई, नुच्छेराम मानन्धर र प्रवास थापा मगर पहिलो भए । सो स्पर्धाको महिलामा रमा कार्की, अम्बिका पोखरेल र लक्ष्मी भण्डारीले पहिलो स्थान हात पारे ।
विजेतालाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, नेपाल योग खेलकुद संघका केन्द्रीय अध्यक्ष सूर्यबहादुर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ८३ खेलाडीले प्रतिस्पर्धा गरेको योग खेलकुद संघका केन्द्रीय महासचिव चूडामणि खरेलले जनाएका छन् ।