बलात्कारका घटना आफन्तहरूबाट नै दबाउने गरिएको…..

0

 

महिला हिंसाका घटना दिन–प्रतिदिन बढ्दै जानुमा मुख्य कारण दण्डहीनता रहेको राजधानीमा आयोजित कार्यक्रमका सहभागीले बताएका छन् । राज्यले पीडितलाई न्याय र पीडकलाई कडा कारवाही गर्ने द्रुत न्यायको बाटो कार्यान्वयन नगरेसम्म हिंसामा परेका महिलाले न्याय नपाउने सरोकारवालाहरूको भनाई छ ।

म्याग र सम्झौता नेपालको संयुक्त आयोजनामा बुधबार आयोजित कार्यक्रमका वक्ताहरूले महिला, बालिकासम्बन्धी जघन्य हिंसा बलात्कारका घटना आफन्तहरूबाट नै दबाउने गरिएको धारणा राखे । प्रतिनिधीसभाकी सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि सांसद अन्जना बिसंखेले पीडित महिलालाई छिटो न्याय दिन सरकारले कानुन निर्माण गर्न लागेको जानकारी दिइन् । महिला हिंसालाई निराकरण गर्न सरकार कानुन निर्माणकै चरणमा छ, उनले भनिन्, ‘छिट्टै कानुन बनेर हिंसामा दबिएका महिलाले न्याय पाउनेछन् ।’

उत्पीडनमा परेका महिलालाई समाज र घर परिवारले संरक्षण गर्नुपर्नेमा जोड दिँदै सरकारले महिला हिंसाका घटनालाई ढाकछोप गर्ने र लुकाउनेलाई समेत कारवाहीको दायरामा ल्याउन कानुन ल्याउन लागेको जानकारी दिइन् । अझै महिलाहरूको राज्यका शक्तिशाली निकायमा पहुँच कम छ, यसले महिला अधिकार ब्यवहारमा लागु गर्न कठिनाई भएको छ, हरेक निर्णायक तहमा महिलाको पहुँच नभएसम्म पीडित महिलाले छिटो न्याय पाउन बिलम्ब हुने धारणा राखिन् ।

कार्यक्रममा अंग्रेजी दैनिक दी हिमालयन टाइम्सका सम्पादक प्रकाश रिमालले अझै पनि पीडितका पक्षमा न्याय दिनेगरि मिडियाले समाचार खोज्न नसकेको सुनाए । हिंसाजन्य घटनामा मिलापत्र भएको पाइएको छ, यो गम्भीर अन्याय हो, यस्ता लुकेका घटनालाई बाहिर ल्याएर पीडितलाई न्याय दिन सकिने उनले बताए । खासगरि, पत्रकारहरूले घटना न्युनीकरण गर्ने सन्देश दिनेगरि घटनालाई स्पष्ट र सत्यसत्य बाहिर ल्याउन सके महिला हिंसाका घटनामा निकै कमि आउने उल्लेख गरे ।

 

सञ्चारिका समुहकी पुर्वअध्यक्ष तथा सेडा कमिटीकी वन्दना राणाले पीडित परिवारले न्यायका लागि लड्न अग्रसर बन्ने हो भने बालिका हिंसा न्युनीकरण हुने बताइन् । अझै धेरै घटना घरभित्रै लुकाइन्छ, समाजमा मिलाइन्छ, यसले झन पीडकहरू हौसिएर महिला हिंसामा संलग्न हुने गरेको उनको भनाई छ ।

अधिवक्ता कपिलचन्द्र पोखरेलले गम्भीर नैतिक पतन हुने फौजदारी अभियोगका मुद्धाहरूको छिटो न्यायसम्पादन हुन सके महिला हिंसाका घटना रोक्न सकिने बताए । अझै पनि कतिपय पीडितहरू अदालत आउनै सक्दैनन्, घटना लुकाएर राख्ने बाध्यता छ, सर्वसाधारण सबैलाई हिंसामा पर्दा पाउने न्याय, हिंसा न्युनीकरणका विषयमा पैरवी गर्न आवश्यक देखिएको धारणा राखे । देशका कुनाकाप्चामा सामाजिक चेतना फैलाउन आवश्यक देखिएको छ, उनले भने, ‘चेतनाको अभाव र शिक्षाको कमिले बालिका हिंसा बढेको छ ।’ विपन्न बस्ती र शिक्षाको कमी भएका बस्तीहरूमा महिला र बालिका हिंसा बढेको तर्क गर्दै दण्ड र न्यायका विषयमा चेतना फैलाउन आवश्यक रहेको प्रष्ट्याए ।

प्रहरी निरिक्षक कोपिला चुडालले पछिल्ला बर्षमा बालिका र किशोरीहरू बलत्कृत हुने क्रम बढेको जानकारी गराइन् । ‘प्रहरी रेकर्डमा बालिका बलत्कारका घटनाको डरलाग्दो संख्या बढेको रेकर्ड आएको छ, उनले भनिन्, यसले हाम्रो समाज कता जाँदैछ र कति हिंस्रक हुँदैछ भन्ने देखाउँछ ।’ नेपाल प्रहरीले पीडित महिलालाई न्याय दिलाउन पीडकलाई पक्राउ गर्ने र अदालतमा उभ्याउने काम छिटोभन्दा छिटो गर्ने प्रतिबद्धता जनाइन् । वरिष्ठ पत्रकार कपिल काफ्लेले महिला हिंसाका घटनालाई समाचारमा जस्ताको तस्तै ल्याइ पीडितलाई न्याय दिन सकिने तर्क राखे । माइती नेपालकी उमा तामाङले गाउँघरमा महिलाहरू कसरी पीडित भएका छन् बारेमा जानकारी गराइन् । साथी संस्थाकी अध्यक्ष उमा शाहले नागरिकमा पीडितलाई न्याय दिन पीडकका विरुद्ध लाग्ने अभियान थाल्नुपर्ने बताइन् ।

कार्यक्रममा पछिल्ला वर्षमा महिला हिंसा र बालिका बलात्कारका घटनाका विवरण सार्वजनिक गरिएको थियो । जातीय हिसाबले पनि दलितहरूमा महिला हिंसा बढेको विभिन्न प्रतिवेदनले देखाएको छ । राजधानी लगायत शहरी क्षेत्र र ग्रामीण भेगका विभिन्न बस्तीमा महिला हिंसाका घटना बढ्दै गएको कार्यक्रममा सहभागीले जानकारी गराएका थिए ।

म्याग नेपालकी अध्यक्ष बबिता बस्नेतले कार्यक्रममाथि प्रकाश पार्दे समुदायका हरेक तह र तप्काबाट हिंसा विरुद्धको चेतना फैलिनुपर्ने बताइन् । सम्झौता नेपालकी कार्यक्रम निर्देशक जमुना लामाले महिला हिंसा हुने र अन्त्यका लागि समाजमा अभियान थाल्नुपर्ने बताइन् । कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाजका अगुवा लगायतका ब्यक्तिले हिंसाविरुद्धका कार्यक्रम दुर्गभ भेग तथा गाउँगाउँमा पुर्याउनुपर्नेमा जोड दिएका थिए । शब्द :– विनोद त्रिपाठी (घटना र विचार )