हनिमुन मनाउँदा हिउँमा फसिन् पाउली

0

हनिमुन मनाउन स्विट्रल्यान्ड गएकी अभिनेत्री पाउली दाम समस्यामा फस्न पुगिन् । जसकारण उनी र उनका पति अर्जुन देवलगायतलाई हेलिकोप्टरको सहायताले उद्धार गरियो ।

सन् २०१७ को डिसेम्बर ४ मा गुवाहटीस्थित एक रेस्टुरेन्टका मालिक प्रेमी अर्जुन देवसँग बंगाली संस्कारअनुसार बिहे गरेकी पाउली हनिमुनका लागि पति अर्जुनका साथ स्विट्रल्यान्ड पुगेकी थिइन् । उनीहरू गार्नरग्रेटको एउटा रेस्टुरेन्टमा बसेका थिए । सोही क्रममा त्यहाँ निकै हिउँ पर्‍यो । हिउँले त्यो इलाका पूरै ढाक्यो । त्यति मात्रै हो र, अति हिउँवर्षाका कारण त्यो इलाकाका सबै फोन सम्पर्क विच्छेद भए । रेल–वे ट्र्याकसहित सबै बाटो बन्द हुन पुगे । उनीहरू निकै आपतमा परे । कसोकसो हेलिकोप्टरको व्यवस्था गरेर उनीहरूको उद्धार गरियो । आजको नयाँ पत्रिका खबर छ ।

पाउलीले त्यतिवेला आफूहरू निकै डराएको बताएकी छिन् । हनिमुन मनाउन गएका आफूहरू हिउँमुनि परेकोमा उनी अझै त्रसित भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । बंगाली फिल्मकी सक्रिय र व्यस्त अभिनेत्री पाउलीले ‘हेट स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी थिइन् । सन् २०१२ को सो फिल्म हिट भएको थियो । त्यसपछि उनले ‘अंकुर अरोडा मर्डर केस’, ‘ग्याङ अफ घोस्ट्स’ र ‘यारा सिली सिली’ नामक बलिउड फिल्ममा अभिनय गरेकी छिन् । पाउली र अर्जुन विगत दुई वर्षदेखि प्रेममा थिए ।