नेपाल प्रहरीकाद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले राखेप च्याम्पियनसिपअन्तर्गत ३९औं हुवाई राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । पुरुष सिंगल्समा श्यान्टु लगातार दोश्रो पटक च्याम्पियन भएका हुन् भने नविताको महिला सिंगल्समा यो लगातार सातौं उपाधि हो । महिला सिंगल्समा दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता सिजरिन शाह ८ पटक च्याम्पियन बनेको कीर्तिमान छ ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा श्यान्टुले प्रहरीकै विनेश खनियाँलाई ११–५, ११–४, ११–९ र ११–९ को सोझो सेटमा पराजित गरे । एपीएफका पुरुषोत्तम वज्राचार्य र प्रहरीका प्रदीप रोका तेश्रो भए ।
महिला सिंगल्समा प्रहरीकी नविताले नातामा नन्द प्रहरीकै एलिना महर्जनलाई १२–१०, ११–१, ११–२ र १२–१० को सीधा सेटमा हराइन् । आर्मीकाद्वय रविना महर्जन र दीक्षा तामाङ तेश्रो भए ।
मिक्स डबल्सको उपाधि नेपाल आर्मीका चन्दन शाही र स्वेच्छा नेम्वाङको जोडीले जिते । उक्त जोडीले फाइनलमा एपीएफका अमरलाल मल्ल र सेलिशा खड्गीको जोडीलाई ११–६, ८–११, ११–७ र ११–९ को सेटमा पाखा लगाए । एपीएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवाल तथा प्रहरीका श्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडी संयुक्त रुपमा तेश्रो भए ।
प्रहरीले स्वर्ण जित्न नसकेको मात्र मिक्स डबल्समा हो । ७ स्पर्धा समावेश प्रतियोगितामा प्रहरीले ६ स्वर्णमाथि कब्जा जमायो ।
यसअघि पुरुष डबल्समा प्रहरीका श्यान्टु श्रेष्ठ र दीप साउन तथा महिला डबल्समा प्रहरीका नवीता श्रेष्ठ र एलिना महर्जनको जोडी पहिलो भएका थिए । पुरुष÷महिला दुवैको टिम इभेन्टमा पनि प्रहरी नै पहिलो भएको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पाँचदिने प्रतियोगितामा विभिन्न ३७ जिल्ला र तीन विभागीय गरी ४० टिमका २ सय ३५ खेलाडीले सहभागिता जनाएको अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।