वन्यजन्तुको ‘ट्रान्जिट हब’ काठमाडौं

0

करिब ३ महिनाअघि भक्तपुरको बालकोटबाट जिउँदो कछुवासहित ललितपुर र मकवानपुरका २ जना तामाङ युवा पक्राउ परे।
टीका बन्धन, काठमाडौं
काठमाडौं उपत्यकामा वन्यजन्तु र वन्यजन्तुको आखेटोपहारको अवैध कारोबारका यी दुई पछिल्ला उदाहरण मात्रै हुन्। ललितपुर र भक्तपुरमा यस्ता घटना तुलनात्मक रूपमा केही कम भए पनि काठमाडौंमा प्रायः दोहोरिरहन्छन्।

छोटो समयमा राम्रो आम्दानी हुने प्रलोभनका कारण वन्यजन्तुको हाडखोर, छाला, खपटाको अवैध कारोबार मौलाइरहेको विज्ञहरू बताउँछन्। वन्यजन्तुको अवैध कारोबारमा ऊर्जाशील युवापुस्ताको आकर्षण बढेको काठमाडौंका जिल्ला वन अधिकृत डा. इन्द्रप्रसाद सापकोटाले बताउनुभयो। उहाँका अनुसार सबैभन्दा बढी २६ देखि ४० वर्ष उमेर समूहका युवा वन्यजन्तु अपराधको घटनामा दोहोरिने गरेका छन्। आजको नेपाल समाचारपत्रमा खबर छ ।

‘केही वर्षयता काठमाडौंमा मात्रै एक वर्षमा यस्तै प्रकृतिका करिब ५० वटा मुद्दा दर्ता हुने गरेका छन्, छोटो समयमा राम्रो आम्दानी हुने प्रलोभनका कारण यस्तो कारोबार मौलाइरहेको छ।’ –सापकोटाले भन्नुभयो। पारिवारिक आर्थिक अवस्था कमजोर रहेका र बेरोजगार व्यक्तिहरू यस्तो घटना संलग्न रहने गरेका अनुसन्धानले पुष्टि गरेको उहाँले जानकारी दिनुभयो। वन्यजन्तुको अवैध शिकार उपत्यकाबाहिर भए पनि आखेटोपहार र अंगप्रत्यांगको मुख्य कारोबार र अन्य मुलुकमा निकासी हुने ‘ट्रान्जिट हब’ काठमाडौंलाई मान्ने गरिन्छ।

उपत्यकाको चक्रपथ र चक्रपथ आसपासका स्थानमा वन्यजन्तुको अवैध कारोबार हुने गरेको विगतका तथ्यांकले पुष्टि गरेको छ। यस्तो कारोबारमा संलग्न रहनेहरूबाट सबैभन्दा धेरै चितुवा (कमन लियोपार्ड)को छाला बरामद हुने गरेको छ भने त्यसपछि रेडपाण्डा, गैंडा, सालक, भालु, बाघ, कस्तुरी मृग, हात्तीका अंगप्रत्यांगसमेत बरामद हुने गरेका छन्। तुलनात्मकरूपमा काठमाडौं, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर र धादिङका युवा यस्ता प्रकृतिका घटनामा दोहोरिने गरेका वन कार्यालय काठमाडौंको तथ्यांक छ।

पछिल्लो समयमा राज्यले बाघ, गैंडा, हात्तीजस्ता ठूला र लोपोन्मुख जन्तुको संरक्षणलाई प्राथमिकता दिँदै गर्दा त्यस्ता वन्यजन्तुको आखेटोपहारको अवैध कारोबार केही मात्रामा घटे पनि अन्य मझौला र साना जन्तुको कारोबार नरोकिएको जानकारहरू बताउँछन्। राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ ले विभिन्न २७ प्रजातिका स्तनधारी जन्तु, ९ प्रजातिका पंछी र विभिन्न ३ प्रजातिका घस्रने जन्तुलाई संरक्षितको सूचीमा सूचीकृत गरेको छ।