बंगलादेशले मंगलबार निश्चित समय सिमा भित्र गतवर्ष सेनाको दमनको कारण म्यान्मारबाट भागेर आएका हजारौं रोहिँग्या अल्पमत मुश्लिम शरणार्थीलाई फर्काउने जानकारी म्यानमार सरकारलाई दिएको छ । यसैगरी म्यानमारले पनि हेरेक साता १ हजार ५ सय रोहिँग्यालाई फिर्ता लान सहमति जनाएको बंगलादेशले पत्रकारहरुलाई जानकारी गराएको छ । यो हिसाबले दुई वर्ष भित्रमा समपूर्ण शरणार्थी म्यानमार फर्काउने लक्ष्य लिइएको छ ।
गत वर्षको अगष्टमा म्यान्मारको रखाइन राज्यमा चर्केको हिंसाको कारण ६ लाख ५० हजार जना भन्दा बढी रोहिँग्या भागेर छिमेकी मुलुक बंगलादेशमा शरण लिन पुगेका थिए । तर दातृ निकायहरुले शरणार्थीहरुलाई जवर्जस्ती स्वदेश फर्काइन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । रोयटर्सका अनुसार तिनीहरुलाई स्वदेश फर्काउने औपचारिक तिथि भने अझैसम्म तोकिएको छैन ।
तर म्यान्मारले भने शुरुमा यसरी फर्किने रोहिँग्यालाई अस्थायी शिविरमा राखिने र पछि तिनीहरुका लागि भवन निर्माण गरिने जानकारी दिएको छ । दुवै पक्षले यस सहमतिमाथि तीन महिनामा पुनरावलोकन गर्ने भएका छन् । संयुक्त राज्य अमेरिकाले म्यान्मारमा रोहिँग्या माथि सेनाले गरेको दमनलाई जातीय सफायाको संज्ञा दिएको थियो । विभिन्न मानवाधिकारवादी समुह र अन्तर्राष्ट्रि जगतको व्यापक विरोधको कारण म्यानमारका नेतृ आंग सान सुकीले गत वर्ष अमेरिकाको न्युयोर्कमा सम्पन्न संयुक्त राष्ट्र संघको वार्षिक महाधिवेशनमा समेत भाग लिएको थिएन । (एजेन्सी)