राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय पत्रकारिता दिवस, २०७५’ को अवसरमा पाँचजना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको छ ।
दिवसको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलद्वारा राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले सो सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको हो ।
राष्ट्रपति भण्डारीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रदान गर्ने यस वर्षको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा महेन्द्र विष्ट र डा राजेश झा ‘अहिराज’लाई प्रदान गर्नुभयो ।
निष्पक्ष, उत्तरदायी, व्यावसायिक, खोजमूलक र विश्लेषणात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसुचित गराउने महत्वपूर्ण कार्यमा सहयोग पुऱ्याएबापत जनही दुई लाख राशिसहितको सो पुरस्कार प्रदान गरिएको हो ।
त्यसैगरी ‘वरिष्ठ पत्रकार सम्मान’बाट घटना र विचार साप्ताहिकका सम्पादक तथा सञ्चारिका समूहकी पूर्वअध्यक्ष बबिता बस्नेत, पत्रकारद्वय कौशल चेम्जोङ र मीनबहादुर बुढाथोकीलाई सम्मान गरिएको छ ।
मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा, पत्रकारद्वय शम्भु श्रेष्ठ, रघु मैनालीसहितको निर्णायक मण्डलले पुरस्कार छनोट गरेको हो ।