राष्ट्रिय च्याम्पियनद्वय श्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नेपाल प्रहरीकाद्वय श्यान्टु र नविता क्रमशः पुरुष÷महिला सिंगल्समा च्याम्पियन बने ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टुले दुई पटकका पूर्व च्याम्पियन प्रहरीका दीप साउनलाई ४–१ को सेटमा पराजित गरे । सानै उमेरदेखि नविताबाट टेबलटेनिस खेल्न सिकेका श्यान्टुले दीपलाई ७–११, १३–११, ११–३, ११–९ र ११–९ को सेटमा हराएका हुन् ।
गत वर्ष पूर्वाञ्चलको विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदअन्तर्गत टेबलटेनिसको पुरुष सिंगल्स फाइनलमा तीनपटकका पूर्व राष्ट्रिय च्याम्पियन शिवसुन्दर गोथेलाई हराउदै ‘डेब्यु’ राष्ट्रिय प्रतियोगितामा श्यान्टु राष्ट्रिय च्याम्पियन बन्न सफल भएका थिए । त्यत्ति खेर श्यान्टु १६ वर्षका थिए । श्यान्टुले नेपाली टेबलटेनिसको इतिहासमा कम उमेरमा सिंगल्सको उपाधि जित्ने इतिहास समेत रचेका थिए ।
उपाधि यात्रासम्म अपराजित रहेका श्यान्टुले फाइनल प्रवेशका लागि भएको क्वालिफायर राउन्डमा नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्यलाई ४–१ ले पाखा लगाएका थिए । श्यान्टु सुपर लिगमा पहिलो र पुरुषोत्तम दोश्रो भएका थिए । हारका बावजुद राष्ट्रिय टेबलटेनिस प्रतियोगिताका दुई पटकका ‘फाइनलिस्ट’ पुरुषोत्तमसंग फाइनल पुग्ने एक अवसर बाँकी नै थियो । त्यसमा पनि पुरुषोत्तम दीपसंग ४–१ ले चुके । राष्ट्रिय प्रतियोगिताको दुवै फाइनलमा पनि पुरुषोत्तम दीपसंगै पराजित भएका थिए । जितसंगै दीपले श्यान्टुसंग उपाधि भिडन्त पक्का गरेका थिए ।
सुपर लिगमा तेश्रो भएका दीपले चौथो भएका एपीएफका शिवलाई एलिमिनेटर राउन्डमा ४–१ ले पन्छाएका थिए । पुरुषोत्तमले तेश्रो स्थानमा चित्त बुझाए ।
महिला सिंगल्सको उपाधि भिडन्तमा नविता श्रेष्ठले सहोदर नन्द एलिना महर्जनको चुनौती ११–९, ११–७, १०–१२, ११–९ र ११–८ को सेटमा समाप्त परिन् । प्रतियोगिताभर एक खेलमा पराजय भोगेकी नविताले पहिलो क्वालिफायर राउन्डमा सुपर लिगमा दोश्रो भएकी नेपाल आर्मी क्लबकी स्वेच्छा नेम्वाङमाथि ४–१ को जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन् । सुपर लिगमा अपराजित रहँदै पहिलो भएकी नविता समूह चरणको खेलमा नेपाल आर्मी क्लबकी दीक्षा तामाङसंग पराजित भएकी थिइन् ।
सुपर लिगमा तेश्रो भएकी आर्मीकी दीक्षा तामाङ र चौथो भएकी एलिनाबीचको एलिमिनेटर राउन्डमा एलिना ४–१ ले विजयी भइन् । त्यो जितसंगै एलिनाले फाइनलमा स्थान बनाउन स्वेच्छासंग फेरि क्वालिफायर राउन्ड खेल्नु पर्ने थियो । त्यो प्रतिस्पर्धामा पनि एलिनाले ४–१ ले बाजी मारिन् । स्वेच्छा तेश्रो स्थानमा सीमित भइन् ।
दुवै समूहमा शीर्ष तीन स्थान हात पार्ने खेलाडी जनही २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कारको हक्दार बने ।
यु–१६ मा संयोज र दीक्षा च्याम्पियन ः
प्रतियोगिताअन्तर्गत यु–१६ सिंगल्सको ब्वाइजमा एपीएफका संयोग कपाली र गल्र्समा आर्मीकी दीक्षा दाहाल पहिलो भए ।
ब्वाइज फाइनलमा संयोगले आफ्नै क्लबका एलेक्स महर्जनलाई १३–१५, १३–११, ११–६, ११–९, ६–११ र ११–८ ले पराजित गरे । याला स्पिनका डिकेन महर्जनले आर्मीका बोधित केसीलाई ४–३ ले हराउदै तेश्रो बने ।
गल्र्स फाइनलमा दीक्षाले वज्र युनियनकी स्मृति पन्तमाथि ११–७, ११–८, ११–७ र ११–७ को जित रचिन् । तेश्रो स्थानका लागि भएको खेलमा एपीएफकी अन्जु सुवालले पिङपोङ सुपरस्टारकी मारिया थापा मगरलाई ४–१ ले सहजै पन्छाइन् । ब्वाइज र गल्र्स दुवैमा पहिलो हुनेले १५ हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् ।