राष्ट्रपति विद्यादेवी भण्डारीलाई खेलकुद क्षेत्रको तर्फबाट बिहीबार अभिनन्दन गरिएको छ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) को नेतृत्वमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टलगायतका पदाधिकारी र विभिन्न राष्ट्रिय खेल संघका प्रतिनिधिसहितको उपस्थितिमा राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरिएको हो ।
खेलकुद मन्त्री विश्वकर्मा र सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पत्र प्रदान गरे ।सोही अवसरमा नेपाल एथलेटिक्स संघ, नेपाल ब्याडमिन्टन संघ, अखिल नेपाल टेबलटेनिस संघ, अखिल नेपाल फुटबल संघ, नेपाल टेनिस संघ, नेपाल हक्की संघ, नेपाल बक्सिङ संघ, नेपाल भलिबल संघ, नेपाल कबड्डी संघ, नेपाल भारोत्तोलन संघ, नेपाल सुटिङ संघ, नेपाल पौडी संघ, नेपाल जुडो संघ, नेपाल गोल्फ संघ, नेपाल आर्चरी संघ, नेपाल कराते महासंघ, नेपाल तेक्वान्दो संघ, नेपाल उसु संघ, नेपाल बास्केटबल संघ, नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघ, नेपाल बुद्धिचाल संघ, नेपाल खो खो संघ, नेपाल पारा ओलम्पिक कमिटी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, नेपाल सेपाकताक्रो संघ, नेपाल खेलाडी तथा प्रशिक्षक संघ, नेपाल मोर्डन पेन्टाथलन संघ, नेपाल योग खेलकुद संघ, नेप्लिज फेडेरेसन अफ बडि बिल्डिङ एन्ड फिट्नेस, पर्वतीय खेलकुद महासंघ, नेपाल साइक्लिङ संघ, नेपाल कुराँस संघ र काठमाडौं जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले राष्ट्रपति भण्डारीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय जगतमा ख्याती कामउने क्षेत्र भएकाले खेलकुद राष्ट्रिय जीवनको महत्वपूर्ण अंग भएको धारणा व्यक्त गरिन् । राष्ट्रपति भण्डारीले राष्ट्रिय खेलकुद परिषद्ले राम्रो काम गरिरहेको बताउदै विद्यालय खेलकुद र पूर्वाधारमा अझ बढी ध्यान दिन आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले खेलकुदमा झै राजनीतिमा पनि नियम पालना गर्नु पर्छ भन्ने चर्चा हुने गरेको स्मरण गर्दै खेलकुदले मानिसलाई अनुशासनमा राख्ने काम पनि गरेको बताइन् ।
खेलकुद मन्त्री विश्वकर्माले खेलकुदमा रहेको विवाद र समस्यालाई अन्त्य गर्दै खेल क्षेत्रलाई अगाडि बढाउन मन्त्रालय प्रयासरत रहेको बताए ।
सदस्य–सचिव विष्टले राष्ट्रपतिले खेलकुदमा देखाएको माया, स्नेह र अधिकतम् सदभावको कदर स्वरुप सिंगो खेलकुद क्षेत्रको तर्फबाट अभिनन्दन गरिएको बताए ।
