फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिने छ । राष्ट्रपति पदमा मनोनयन उम्मेदवारको नामावली आजै प्रकाशन गर्ने कार्यतालिका छ ।
राष्ट्रपति पदको निर्वाचनका लागि वाम गठबन्धनबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले उम्मेदवारी दिएकी छन् । एमालेले भण्डारीलाई राष्ट्रपति पदमा उम्मेदवार बनाएपछि नेपाली कांग्रेसबाट कुमारीलक्ष्मी राईले उम्मेदवारी दिएकी छन् ।
निर्वाचन आयोगले आजै उम्मेदवारको दाबी विरोधमा उजुरी परेमा मनोनय पत्र र उजुरी उपर जाँचबुझ गरिने जनाएको छ ।
त्यस्तै, निर्वाचन आयोगले राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू गरेको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचन अवधिभर लागू हुने गरी निर्वाचन आचारसंहिता, २०७२ जारी गरेको हो ।
निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्न बुधबारबाट निर्वाचन आचारसंहिता लागू गरेको हो ।