नेपालका रविन श्रेष्ठले आठौं दक्षिण एसियाली जुडो च्याम्पियनसिपको पहिलो दिन शनिबार स्वर्ण जितेका छन् । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा पुरुष १०० केजीमुनि रविनले लिगमा आफ्नै राष्ट्रका सूर्यमान लामा, श्रीलंकाका बन्दुला बजाला र बंगलादेशका मोहम्मद कलम अजादलाई पराजित गरे ।
नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको पहिलो दिन स्वर्ण जित्ने रविन एक्लो नेपाली खेलाडी हुन् । स्वर्णका अलावा नेपालले ३ रजत र ६ कांस्य हात पा¥यो ।
महिला ६३ केजीमुनि १२ औं सागकी स्वर्ण विजेता फुपुल्हामु खत्री रजतमा सीमित भइन् । फाइनलमा फुपुलाई भारतकी सुनिबालादेवी हुइड्रोमले हराइन् । १२ औं सागको फाइनलमा फुपुले सुनिबालालाई नै हराउदै स्वर्ण जितेकी थिइन् । पुरुष ९० केजीमुनि श्रीराम मकाजु र महिला ५७ केजीमुनि लीला अधिकारीले नेपाललाई रजत दिलाए ।
पुरुष ९० केजीमुनि रमेशबहादुर चन्द, पुरुष १०० केजीमाथि राजन जोशी, महिला ४८ केजीमुनि सुमित्रा राई, महिला ५२ केजीमुनि देवीका खड्का र अन्जु पाण्डे तथा महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपालका लागि कांस्य हात पारे ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा टिमसहित विभिन्न १६ स्पर्धामा समावेश छन् । नेपाल, भारत, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश गरी ६ राष्ट्रका १ सय २ खेलाडी प्रतियोगितामा सहभागी छन् । आइतबार विभिन्न ७ स्पर्धाको फाइनल हुनेछ ।