टप माउन्टेन तेक्वान्दो संघ, हङकङको नवौं वार्षिकोत्सवका अवसरमा आयोजित नवौं वार्षिकोत्सव तेक्वान्दो ग्योरोगी च्याम्पियनसिपमा नेपालकी मेलिशा खड्गीले आइतबार स्वर्ण जितेकी छन् ।
हङकङमा भएको प्रतियोगिताको महिला ४५ केजीमुनि फाइनलमा मेलिशाले फिलिपिन्सकी खेलाडीलाई पराजित गर्दै स्वर्ण जितिन् । त्यसअघि मेलिशाले हङकङ र इन्डोनेसियाका खेलाडीलाई हराएको प्रशिक्षक मनोज खड्गीले जनाएका छन् ।
उक्त प्रतियोगितामा मेलिशाको यो लगातार दोश्रो स्वर्ण हो । गत संस्करणमा पनि मेलिशाले स्वर्ण जितेकी थिइन् । मेलिशालाई टप माउन्टेन तेक्वान्दो संघका संस्थापक अध्यक्ष गणेश गुरुङले पुरस्कृत गरे ।
