मेगा बैंक नेपालमा टुरिजम डेभलपमेन्ट बैंक गाभिएर आइतबारदेखि एकीकृत कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुरूआत गर्नुभयो ।
गभर्नर नेपालले बैंकहरूले गलत ठाउँमा लगानी विस्तार गर्दा खराब कर्जाको अनुपात बढ्ने भन्दै त्यस्तो गतिविधि रोक्न राष्ट्र बैंकले सूक्ष्म निगरानी बढाएको बताउनुभयो । बैंकरहरुले जसरी पनि नाफा कमाउन लागिपरेको भन्दै निक्षेप संकलन १३ प्रतिशतले बढ्दा ऋण लगानी १८ प्रतिशतले बढेको बैंकहरू सुधारिन जरुरी रहेको बताउनुभयो।
कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले टुरिजम डेभलपमेन्ट बैंकका सबै ३६ वटा शाखा, एक्सटेन्सन काउन्टर, एटीएमलगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर आइतबारबाट संयुक्त कारोबार शुरु गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार, टुरिज्म डेभलपमेन्ट बैंकको १ कित्ता शेयर हुने शेयरधनीलाई गाभिएपछि मेगा बैंकको शून्य ९५ कित्ता शेयर प्रदान गर्ने गरी शेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) निर्धारण भएको छ । मेगा बैंकको यो दोस्रो मर्जर हो । यसअघि मेगा बैंकस“ग बुटवलमा केन्द्रीय कार्यालय रहेको पश्चिमाञ्चल डेभलपमेन्ट बैंक गाभिएको थियो ।
‘आज म असाध्यै खुशी छु, टुरिजमसँगको मर्जपछि मेगा बैंक चुक्ता पुँजीको आधारमा देशकै तेस्रो ठूलो वाणिज्य बैंकको रुपमा स्थापित भएको छ ।’ मेगा बैंकका अध्यक्ष शाहले भन्नुभयो । यसबाट बैंकको नेटवर्कमा मात्र वृद्धि भएको नभई व्यावसायिक अवसरमा पनि वृद्धि भएको शाहको भनाइ छ । मेगा बैंकका शाखा कार्यालय अब ३२ वटा जिल्लाबाट ४९ वटा जिल्लामा पुगेको छ । बैंकले सातवटै प्रदेशमा मेगा बैंकको प्रदेश हेडक्वार्टर स्थापना गर्ने गरी अगाडि बढिरहेको समेत शाहले जानकारी गराउनुभयो ।
‘हामीले विज्ञहरुसँगको परामर्श र छलफलबाट पाँच वर्षे रणनीतिक योजना तय गरेका छौं । आर्थिक सम्भावनाका नयाँ क्षेत्र पहिल्याउँदै कृषि, पर्यटन र जलविद्युत्को क्षेत्रमा प्राथमिकताका साथ बैंकको मुख्य व्यवसायलाई केन्द्रित गर्छौं ।’ उहाँले भन्नुभयो ।
संयुक्त मर्जर समितिका संयोजक एवं मेगा बैंक सञ्चालक समितिका सदस्य गोपाल खनालले मर्जरपछि पुँजी, सामथ्र्य, नेटवर्क र व्यावसायिक प्रतिस्पर्धाका आधारमा मेगा बैंक देशकै उत्कृष्ट बैंक बन्ने धारणा राख्नुभयो ।
मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले टुरिजमका ३६ वटा शाखा थपिएपछि मेगा बैंकका शाखा कार्यालय ९१ वटा पुगेको जानकारी दिनुभयो । सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार गर्ने सरकारको नीति बमोजिम यसै आर्थिक वर्षमा थप १७ वटा शाखा खोल्ने कार्य भइरहेकोमा वैशाख महिनामा मात्र ८ वटा शाखा सञ्चालनमा आइसकेका छन् । अन्य शाखा पनि यसै आर्थिक वर्षभित्र खोलिने गरी कार्य अघि बढिरहेको छ।साथै अन्य २ स्थानमा पनि शाखा खोल्ने तयारीमा बैंक रहेको छ । यो सबै गरेर बैंकको शाखा सञ्जाल १ सय २ कायम हुने खुञ्जेलीको भनाइ छ।
मर्जरअघि मेगा बैंकको चुक्ता पुँजी ७ अर्ब ३७ करोड र टुरिजम डेभलपमेन्ट बैंकको २ अर्ब १ करोड रहेको थियो । तर, शेयर आदानप्रदान अनुपात समायोजनपछि थप भएको १ अर्ब ९१ करोडको चुक्ता पुँजीसहित मर्जरपछि मेगाको चुक्ता पुँजी ९ अर्ब २९ करोड कायम भएको छ । १० करोड रुपियाँ पँुजीगत जगेडामा थप भएको छ ।
यसैगरी मर्जरपछि बैंकको निक्षेप ५७ अर्ब ५५ करोड रुपियाँ पुगेको छ भने कर्जा ५५ अर्ब ७० करोड रुपियाँ कायम भएको छ । मेगा बैंक वाणिज्य बैंकहरु मध्ये निक्षेपमा २४औं र कर्जामा २२औं स्थानमा रहेको छ ।