इन्डियन प्रिमियर लीग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले तीन विकेटको रोमान्चक जित दर्ता गरेको छ । आइतबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको हो ।
टस जितेर पहिले व्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । राजस्थानले १६८ रनको विजय लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्यो ।
राजस्थानको ६ म्याचमा यो तेस्रो जित हो भने मुम्बईलाई पाँच म्याचमा चौथो हारको सामना गर्नुपरेको छ ।
राजस्थानको जितमा सन्जु सामसनले ५२ रनको शानदार अर्धशतक बनाए । यसै गरी बेन स्टोक्सले ४० र कृष्णप्पा गौतमले ११ बलमा अविजित ३३ रनको पारी खेले ।
३९ बलको सामना गरेका सन्जु सामसनले चार चौका प्रहार गर्दा स्टोक्सले २७ बलमा तीन चौका र एक छक्का हाने । कृष्णप्पा गौतमले चार चौका र दुई छक्काको मद्दतमा ११ बलमा ३३ रन बनाए ।
मुम्बईका लागि जसप्रित बुमराह र हार्दिक पाण्ड्याले दुई-दुई विकेट लिए भने मिचेल मेक्लेंघन, क्रुणाल पाण्ड्या, मुस्ताफिजुर रहमानले एक-एक विकेट झारे ।