पार्टी एकता प्रक्रियाले गति लिन नसकिरहेको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ महिनाभित्र एकताका धेरै कुरा टुंगिने दावी गर्नुभएको छ ।
उहाँले एकताका लागि भएका वार्ताहरु सकारात्मक दिशामा अगाडि बढेको बताउदै एकता प्रक्रियालाई कुनै पनि तागतले रोक्न नसक्ने बताउनुभएको हो ।
आइतबार अखिल क्रान्तिकारीका पदाधिकारीको प्रतिनिधि मण्डलसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाहिर हल्ला आएजस्तो एकतामा समस्या नरहेको बताउनुभयो ।
एमालेले सरकार गठनलाई प्राथमिकता राखे पनि एकता र सरकार गठनको प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताउदै प्रचण्डले भन्नुभयो, ‘हामी सकभर सरकार गठन अगाडि नै पार्टी एकता होस् भन्ने पक्षमा छौँ, त्यसो नभए पनि दुवै काम सँगसँगै अगाडि बढ्छन् ।’