भारत विधानसभा चुनाव : अजानको सम्मानमा मोदीले भाषण रोके

0

त्रिपुरा र नागाल्यान्डमा भाजपा गठबन्धनको जीतमा प्रधानमन्त्रीले पार्टीको मुख्यालयमा कार्यकर्ताहरुलाई सम्बोधन गरेका छन् । उनले उक्त जितको श्रेय जनता, पार्टी नेता र कार्यकर्ता भएको बताए ।
प्रधानमन्त्री मोदीले भाषण शुरु गरेको केही समय नबित्दै अजान (मुस्लिम प्रार्थना) सुरु भएपछि उनले कार्यकर्तालाई निर्देशन दिँदै दुई मिनेट मौन रहन भनेका थिए । यद्यपी केही अन्य मस्जिदहरुमा अजान भइरहेकोले उक्त विराम दुई मिनेट भन्दा बढी समयसम्म जारी रह्यो ।
त्यसपछि उनले भाषणको सुरुवाट ‘भारत माता‘को नारा लगाएर गरेका थिए । मोदीले त्रिपुरामा मारिएका ९ जना कार्यकर्तालाई श्रद्धान्जली दिए । उनले आफ्नो भाषणमा उनीहरुको स्मरण गर्दै श्रद्धान्जली दिएका थिए ।
विगत २५ बर्षदेखि त्रिपुरा राज्यको सत्तामा रहेको वामपन्थी सरकारलाई पछार्दै भाजपाले विधानसभा चुनावमा बहुमतसहितको जित हासिल गरेको छ । त्यसै गरी नागाल्यान्ड पनि भाजपालाई सफलता प्राप्त भएको छ । नागाल्यान्डमा उसले ११ सिट जितेको छ ।
मेघालयमा कांग्रेस सबैभन्दा ठुलो पार्टीका रुपमा देखिए पनि त्यहाँको नतिजा त्रिशंकु बनेको छ । मेघालयमा नेसनल पिपल पार्टी (एनपीपी)को नेतृत्वमा भाजपाले सरकार बनाउने भएको छ । कोनराड संगमा राज्यका नयाँ मुख्यमन्त्री बन्नेछ । राज्यपालले बहुमतको दावीपछि उनलाई सरकार बनाउन निमन्त्रणा गरेको हो ।
त्रिपुराको ६० सदस्यिय विधानसभामा भाजपा गठबन्धनले ४३ सिट हासिल गरेको छ । भाजपाले मात्र यहाँ ३५ सिटमा जित हासिल गरेको छ ।
त्यसैगरी मेघालयमा सत्तारुढ काग्रेसले सबैभन्दा धेरै २१ सिटमामा जित हासिल गरेको छ । यसअघिको चुनावमा पाटीले ६० सिटमा २९ सिट हासिल गरेका थिए । भाजपाको सम्भावित गठबन्धन नेसनल पिपुल्स पार्टीले १९ सिटमा जितेको छ भने भाजपाले २ सिटमा जित हासिल गरेको छ ।