ब्लोदानको टोली स्वदेश फिर्ता

0

भारतको उडिसामा सम्पन्न रक्तदाताको सम्मेलनमा नेपालले पनि सहभागिता जनाएको छ ।

उक्त सम्मेलनमा नेपालको तर्फबाट ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले सहभागिता जनाएको थियो ।
रगत तथा स्वयम्सेवी रक्तदाताको बारेमा छलफल गर्न आयोजित उक्त सम्मेलनमा भारतको विभिन्न राज्यहरुका साथै नेपाल तथा बंगलादेशका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा शतक रक्तदाताहरुलाई सम्मान गरिएको थियो भने नेपाली प्रतिनिधिहरुलाई विशेष सम्मान गरिएको थियो । सो कार्यक्रमका आयोजक एवम् अतिथिहरुलाई नेपालको तर्फबाट रुद्राक्ष, चन्दन तथा मायाको चिनो प्रदान गरिएको थियो ।

ब्लोदानको केन्द्रीय कोषाध्यक्ष मचाकाजी महर्जनको नेतृत्वमा गएको उक्त टोलीमा ब्लोदानका सचिव सूर्यलाल महर्जन, केन्द्रीय सदस्यद्वय विष्णुराज श्रेष्ठ र सुभद्रा खड्का, फ्रेण्डस् अफ आरएच नेगेटिभ ब्लड ग्रुपका अध्यक्ष जीवन बस्नेत, ब्लोदान बालाजु क्षेत्रका संयोजक देवेन्द्र महर्जन तथा नियमित रक्तदाता अम्बिका महर्जन रहनुभएको थियो । सो कार्यक्रममा ब्लोदानका कोषाध्यक्ष मचाकाजी महर्जनले कार्यपत्रसमेत प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यपत्रमा समेटिएको नेपालमा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा स्वयम्सेवी रक्तदान गर्ने रक्तदाताहरुलाई प्रदान गरिने डोनर पिन र संघसंस्थाहरुलाई प्रदान गरिने रनिङ्ग शील्डको बारेमा सहभागीहरुले विशेष चासो दिइएको थियो ।

प्रस्तुत कार्यपत्रहरुमा समावेश गरिएका विषयवस्तुहरु स्वयंसेवी रक्तदान अभियानमा लागिरहेका व्यक्तिहरु तथा संघसंस्थाहरुलाई अत्यन्त उपयोगी रहेको सहभागी टोलीले जनाएको छ ।