काठमाडौँ — आउँदो वैशाख २९ गते बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा ‘बुद्ध सन्देश संसारभर’ भन्ने नारासहित विशेष कार्यक्रम आयोजना हुने भएको छ। ७७ वटा स्थानीय संघसंस्थालाई समेटेर मूल आयोजक समिति बनाइएको कार्यक्रमबारे बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो।
समितिका अध्यक्ष राजकुमार लामाका अनुसार बौद्ध धर्मसँग सम्बन्धित स्थानीय तथा धार्मिक संघसंस्थाहरूको सहभागितामा करिब पाँच हजारभन्दा बढी सहभागी गराइने लक्ष्य रहेको छ।
समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा प्रमुख अतिथि रहनेछन् भने निधिपति नाम्खा रिन्पोछे र क्याब्जे ज्याटुल रिन्पोछे विशेष अतिथिका रूपमा उपस्थित हुनेछन्।
कार्यक्रम बिहान ८:४५ बजे बौद्ध महांकाल चौरबाट शान्ति ¥यालीका साथ सुरु भइ तिनचुली हुँदै बौद्धनाथ महास्तूप परिक्रमा गरि ह्यात चौरमा पुगेर सम्पन्न हुनेछ। सो अवसरमा भगवान बुद्धको अस्तुधातुको दर्शन, सांस्कृतिक झाँकी, नेपाली बाजागाजा, बौद्ध परम्परा तथा कलात्मक विरासतको प्रदर्शन, आयु अभिषेक तथा गुरू प्रवचन लगायत विविध कार्यक्रम हुनेछन्।
कार्यक्रम व्यवस्थित बनाउन शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन लगायत विभिन्न उपसमितिहरू गठन गरिएको विकास समितिका कार्यकारी निर्देशक मोहन कुमार तामाङले जानकारी दिए \

