इण्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले पराजित गरे ।
चिन्नास्वामी स्टेडियममा पहिले व्याटिङ गर्दै बैंगलोरले चेन्नाईसामु २ सय ६ रनको विजय लक्ष्य दिएको थियो जसलाई चेन्नाईले दुई बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गरे ।
यो जितको श्रेय कप्तान महेन्द्र सिंह धोनी र अम्बाती रायडुलाई दिन सकिन्छ । किनकी धोनीले नटआउट ७० र रायडुले ८२ रनको योगदान गरे । दुवैले पाँचौ विकेटका लागि १ सय १ रनको साझेदारी गरे ।
चेन्नाईको चार विकेट नौ ओभरमा ७४ रनमा खसिसकेको थियो । रायडूले ५३ बलमा तीन चौका र आठ छक्काको मद्दतमा ८२ रन बनाए । तर, उनी १८ औं ओभरमा रन आउट भए ।
महेन्द्र सिंह धोनीले ३४ बल सामना गरे । उनले सात छक्का र एक चौकाको मद्दतमा अविजित ७० रन जोडे । सुरुदेखि नै आक्रामक खेलेका धोनीले १२ ओभरमा ब्याट परिवर्तन गरे । त्यतिबेला चेन्नाईलाई जितका लागि ४८ बलमा १०५ रन आवश्यक थियो ।
अन्तिम ओभरमा १६ रन आवश्यक परेको बेला ड्वेन ब्राभोले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा एक रन लिए । चौथो बलमा धोनीले छक्का हानेर जित दिलाए । उनी प्लेयर अफ दि म्याच भए ।