बुद्ध एयरले ७२ सिट क्षमताको थप एटीआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ ।
नयाँ जहाजको कलसाइन ९ एन–एएमयु रहने कम्पनीका मेनेजर विनीता थापाले जारी गर्नुभएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सीट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुने कम्पनीको दाबी छ । वातावरणीय तथा ध्वनी प्रदुषणको हिसाबले एटीआर जहाज निकै किफायती मानिन्छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर ट्राफिकका कारण विशेषतः आन्तरिक उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ ।
उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो । नयाँ जहाज आइसकेपछि अन्य विमानहरुको नियमित मर्मतसम्भार तथा उडानहरु परिचालन गर्न निकै सहज हुने कम्पनीले जनाएको छ ।
प्रदेश नम्बर २ को राजविराज विमानस्थलको स्तरोन्नति लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नको लागि पनि बुद्ध एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । आवश्यक तयारीपछि बुद्ध एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ ।
यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा, एटीआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफट १९०० डी रहेका छन् ।