कुनै सेलेब्रिटीले केही हर्कत गर्यो भने बलिउडमा ट्रोल बनिहाल्छ । दर्शकले अनेक कमेन्ट गर्ने गर्दछन् । कतिपय अवस्थामा सेलेब्रिटीलाई दर्शकको प्रतिक्रिया झेल्न गाह्रो पर्छ । र, आफ्नो लापरबाही या कमजोरीप्रति माफी माग्दै सच्याउँछन् ।
केही दिनअघि निर्देशक करण जौहरले आफ्नो नयाँ फिल्म ‘केशरी’मा परिणीति चोपडा फाइनल भएको जानकारी दिँदै ट्विटरमा अक्षयकुमारको फोटो पोस्ट गरेका थिए । करणको त्यो कुरालाई उनका फलोअरले मजाक बनाएका थिए । कतिले परिणीति कहिलेदेखि अक्षयकुमार भइन् ? भनेरसमेत उडाएका थिए । पछि, करणले आफूले हिरोइनमा परिणीति पक्का गरेको र त्यही कुरा जानकारी दिन अक्षयको केशरी लुक्स सार्वजनिक गरिएको उल्लेख गर्दै आफ्नो असावधानीप्रति माफी मागेका थिए ।
तर, अहिले आएर एकजना टेलिभिजन अभिनेत्री तथा मोडलले भने दर्शकको भद्दा प्रतिक्रियाप्रति झन् कडा जवाफ फर्काएर जग हँसाएकी छिन् । ती अभिनेत्री हुन्, समा सिकन्दर । समाले हालै आफ्ना बिकिनी पोजका फोटा इन्स्ट्राग्राममा अपलोड गरेकी थिइन् । केही दिनयता मेलबर्नमा ब्वाइफ्रेन्डका साथ मस्ती गरिरहेकी समाका ती बिकिनी फोटाप्रति अडियन्सले ट्रोल बनाएनन् मात्रै, विविध अश्लील गालीगलौजसमेत गरे । आजको नयाँ पत्रिकामा खबर छ ।
तर, समाले आफूले गल्ती गरेको महसुस पटक्कै गरिनन् । उनले उल्टै आफ्नो फोटामा खराब कमेन्ट गर्नेलाई कडा शब्दमा जवाफ फर्काइन् । उनले हरेक स्त्रीसँग दुईटा स्तन हुने र तिनै स्तनका कारण पुरुषभन्दा स्त्री फरक देखिने गरेको स्मरण गराउँदै आफूलाई आफ्न स्तनप्रति गर्व महसुस हुने उत्तर दिइन् । उनको जवाफ पढेर दर्शकहरू चकित परेका छन् । तर, उनलाई गाली गर्ने क्रम भने रोकिएको छैन ।
केही म्युजिक भिडियोमा समेत अभिनय गरेकी समाले सन् २००३ देखि २००५ सम्म चलेको टिभी सिरियल ‘ए मेरी लाइफ है’बाट चर्चा कमाएकी हुन् । केही फिल्ममा समेत अभिनय गरेकी उनले सन् २०१० मा फेसन डिजाइन कम्पनी खोलिन् । पछिल्ला दिनमा उनी फेसन मोडलका रूपमा समेत चर्चित छिन् ।
समाले केही वर्षअघि आफू डिप्रेसनको सिकार भएको खुलासा गरेकी थिइन् । डिप्रेसनका कारण आफूले ५ वर्षअघि आत्महत्या गर्ने कोसिससमेत गरेको उनले बताएकी थिइन् । उनी अचेल ब्वाइफ्रेन्डका साथ निकै खुसी रहेको बताउने गर्दछिन् ।