नायिका तथा निर्मात्री श्वेता खड्का र उनका नायक तथा निर्माता पति स्व. श्रीकृष्ण श्रेष्ठको नाममा स्थापित स्वेताश्री फाउन्डेशनको अगुवाइमा निर्माण भइरहेको ‘एकीकृत नमुना माझी वस्ती’ को सहयोगार्थ र ‘कान्छी म्युजिकल नाइट तथा रेड कार्पेट’ मा कलिउड चलचित्र उद्योगका प्रायः हस्तीहरुको उपस्थिति रहेको थियो ।
राजधानीको अन्नपूर्ण होटलमा मंगलबार तामझामका साथ ‘कान्छी म्युजिकल नाइट’ सम्पन्न भयो ।श्वेताले आफ्नो चलचित्र प्रोमोशनका लागि आयोजना गरेको ‘कान्छी म्युजिकल नाइट २०१८’ नाम दिइएको कार्यक्रमममा कलाकर्मीलाई अवार्ड तथा सम्मान समारोहमा परिणत भएको थियो ।
कान्छीका गीत भिडियोको कोरियोग्राफिीसमेत गरेका नृत्य निर्देशक वसन्त श्रेष्ठलाई रु. ५१ हजारबाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरियो । श्वेताले हरेक वर्ष एक फिल्मीकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिने बताए । मिस नेपाल २००५ का सुगारिका केसी र सञ्चारकर्मी नरेश भट्टराईद्वारा सञ्चालित कार्यक्रममा हास्य अभिनेत्री बसुन्धारा भुसाल र रक्षा नेपालीकी प्रमुख सामाजिक अभियान्ता मेनुका थापालाई पनि विशेष सम्मान गरियो । भुसाल सम्मान ग्रहणपछि अन्य धेरै कार्यक्रमहरुमा जस्तै यसपटक पनि भाुवक हुँदै मञ्चमै रोइन ।
सोही अवसरमा भूपेन्द्र अधिकारी र माझी वस्ती निर्माणमा सक्रियरुपमा लागि परेका यज्ञराज कार्कीलाई प्रोत्साहन पुरस्कार दिइयो ।यसै गरी संगीतकार राजनराज शिवाकोटीले संगीत दिइएको ‘कान्छी’ को ‘चरी चट्ट’ बोलको गीतको एक करोड बढी भ्युज पाएपछि उनलाई मोटरसाइकल उपहार दिइयो । यो मोटरसाइकल रमन मोटर्सले प्रयोजित गरिएको थियो ।
कार्यक्रममा श्रीकृष्ण श्रेष्ठको सम्झनामा नायिका अशिष्मा नकर्मी, जेविका कार्की, नायक विनोद न्यौपाने र कोरियोग्राफरले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने नायक तथा निर्देशक आकाश अधिकारी र नायिका मरिस्का पोखरेलले पनि आफ्नो प्रस्तुत दिएका थिए । श्वेताको नृत्य प्रस्तुति उस्तै आकर्षक रह्यो ।
यस्तै कार्यक्रममा जितु नेपाल र सन्दीप क्षत्रीले विभिन्न समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै मनोरन्जन दिलाए ।
यसै गरी श्वेताले सहभागी सबैलाई धन्यवाद दिँदै माझी वस्ती निर्माणमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनप्रति कृतज्ञता प्रकट गरिन । सो अवसरमा सिन्धुपाल्चोकमा निर्माणाधीन माझी वस्तीका बारेमा तयार पारिएको भिडियोसमेत सार्वजनिक गरिएको थियो भने कान्छीको नयाँ गीत प्रिमियमसमेत गरिएको थियो । कान्छी फागुन ४ गतेदेखि अल नेपाल रिजिल हुँदैछ ।
कार्यक्रममा भुवन चन्द, चैत्यदेवी सिंह, नीर शाह, हरिहर शर्मा, गौरी मल्ल, करिश्मा मानन्धर, अभिनेता दयाहाङ राई, पूर्वप्रधानसेनापति रुक्मांगत कटवाल, डीआइजी रमेश खरेल, खेलाडी दीपक विष्ट, डा. भोला रिजाललगायत उपस्थित थिए ।