नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर २ रुपियाँ घटाएको निगमले जनाएको छ ।
निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपियाँ घटाएको हो ।
पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय ८ रुपियाँ तथा डिजेल र मट्टितेलको ९५ सय रुपियाँ कायम भएको छ । अन्तरराष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा पुनः कमी आएकाले मूल्य समायोजन गरिएको गोइतले बताए ।
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ । हाल कच्चा तेलको मूल्य अस्थिर भएका कारणले गर्दा आगामी दिनमा प्राप्त हुने नयाँ मूल्य र स्वचालित मूल्य प्रणालीको संयन्त्र बमोजिम नै मूल्य समायोजन गर्दै जाने निगमले जनाएको छ ।
यो मूल्य समायोजन पश्चात पनि भारतको रक्सौलभन्दा नेपालको वीरगन्जतर्फको सीमा मूल्यमा पेट्रोलमा प्रतिलिटर १० रुपियाँ ४१ पैसा तथा डिजेलमा प्रतिलिटर १२ रुपियाँ ३८ पैसा सस्तो रहेको निगमले जनाएको छ ।
विगतका केही महिनाको अवधिमा अन्तरााष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्यधिक घाटा भएको थियो । चालू आवको विगतमा केही महिनाको अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो १५ दिनको नाफासमेत मिलाउँदा अझै करीब २ अर्ब ३७ करोड रुपियाँ घाटा पूर्ति हुन बाँकी रहेको निगमले जनाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनमा निगमलाई नाफा भए पनि एलपी ग्यासमा प्रति सिलिण्डर ८० रुपियाँ ७९ पैसा घाटा रहेको निगमले जनाएको छ ।

