देउवालाई राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुलाउनु ः शेखर कोइराला
नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बाटो खुलाउनुपर्ने बताएका छन् ।
नेता कोइरालाले संविधानतः राजीनामा गर्नुपर्ने नदेखिए पनि नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिनुपर्ने बताएका हुन् । नेता कोइरालाले संविधान आफैँमा पूर्ण नहुने गरेको भन्दै निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको संविधान बनाउनु गलत भएको बताए ।
कांग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएको भन्दै नेता कोइरालाले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएको बताए । कांग्रेसले पाँच वर्ष संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापीरुपमा संगठन वलियो बनाउनुपर्नेमा उनले जोड दिए ।