कोस्टारिकामा आइतबार सम्पन्न निर्वाचनको पछिल्लो परिणामअनुसार मध्यमार्गी दक्षिणपन्थी राष्ट्रपतिय उम्मेदवार कार्लोस अल्भाराडोले सफलता हासिल गर्ने पक्का भएको छ । कोस्टारिकाको चुनाव परिषद्ले ९१ प्रतिशत मतदान केन्द्रको मतगणनाको आधारमा यो घोषणा गरेको हो ।
मतगणना सकिन लाग्दासम्म अल्भाराडोले कुल खसेको मतको ६० र उनका निकटतम प्रतिद्वन्द्वी कन्जरेभेटिभ फाव्रिसियो अल्भाराडोले ३९ प्रतिशत मत प्राप्त गरेको बताइएको छ । ३८ वर्षीया कार्लोस पूर्वश्रममन्त्री, पत्रकार, उपन्यासकार र रक गायक रहेका छन् ।
उनले, ‘एलिजो एल फुटुरो अर्थात म भविष्य छान्छु’ भन्ने चुनावी नारा बोकेका थिए । त्यस्तै ४३ वर्षीय फाब्रिसियो धार्मिक प्रवचनकर्ता, टेलिभिजन पत्रकार र इसाई संगीतका गायक हुन् ।
नेसनल रिस्टोरेसन पार्टी (पीआए एन) बाट चुनाव लडेका उनले परम्परागत मुल्य र मान्यताको रक्षा गर्ने चुनावी मुद्दा बोकेका थिए । पहिलो चरणको निर्वाचनमा फाब्रिसियोले अधिकांस मत आफ्नो पोल्टामा पारेका थिए । तैपनि उनले चुनाव जित्न आवश्यक मत संख्या पु¥याउन सकेको थिएन ।
चुनवाका लागि नेताहरुले कोस्टारिकाको घाटा बजेट र हत्या र हिंसामा आएको अप्रत्यासित वृद्धिलाई पनि अघि सारेका थिए । सम्लिंगी विवाहलाई वैधानिकता दिने विषयमा पनि कार्लोस र फाब्रिसियोबिच स्पष्ट विवाद रहेको छ ।
गत जनवरीमा अन्तर अमेरिकी मानव अधिकार अदालतले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने निर्णय सुनाएको थियो । कार्लोस र फाब्रिसियो क्रमशः सो निर्णयको पक्ष र विपक्षमा उभेका थिए ।
