नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली मुलुकको ४१औ प्रधानमन्त्री नियुक्तिका लागि दाबी पत्र बोकेर स्वयंम राष्ट्रपति कार्यालय शितल निवास गएका छन्। ओलीसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै शितलनिवास गएका हुन ।
यसअघि एमाले र माओवादी नेताहरुले शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गरेका थिए । संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्ती गर्नका लागि केपी ओलीले माओवादीको समर्थन सहितको पत्र पेश गरेका थिए ।
एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री चयनका लागि वाम गठबन्धनको बुधबारको बैठकले दावी पेश गर्ने निर्णय गरेको थियो। एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
देउवाले राजिनामा दिने तयारी गरेपछि केपी ओली प्रधानमन्त्री बन्न कसरतमा लागेका हुन । एमाले केन्द्रिय कार्यालयका सचिब कृष्णगोपाल श्रेष्ठले जानकारी दिए अनुसार संसदमा बहुमत लिएर आजै प्रधानमन्त्री बन्ने तयारी छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ९ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मन्त्रिपरिषद् लगत्तै राजीनामा दिने तयारी छ।