नेपाली कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदै छ ।
अपराह्न तीन बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
मिर्गौला, फोक्सो र नसा सम्बन्धी समस्याबाट पीडित खड्काको उपचारको क्रममा शुक्रबार नयाँदिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीर शनिबार राति ९ बजे काठमाडौं ल्याइएको छ ।
बेलायतमा बस्दै आएका खुमबहादुरका छोरा अनुराग खड्का नेपाल नआइसकेकाले उनको पार्थिव शरीरलाई सानेपास्थित निवासमा राखिएको छ । अहिले खड्कालाई श्रद्धाञ्जली दिनेहरुको सानेपा निवासमा भिडभाड छ ।