एपीएफ क्लब र प्रदेश १ प्रथम सभामुख कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषमा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा रोल्पा जिल्ला खेलकुद विकास समितिको व्यवस्थापनमा भएको प्रतियोगितामा एपीएफले प्रदेश २ लाई २५–१३, २५–१२ र २५–९ को सोझो सेटमा हराउदै समूह ‘सी’ को विजेता बन्यो । समूह ‘बी’ को विजेता बन्ने क्रममा प्रदेश १ ले प्रदेश ६ लाई २५–१९, २५–१० र २५–१२ ले हरायो । हारका बावजुद प्रदेश २ र ६ पनि आ–आफ्नो समूहको उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भए । दुवै समूहमा २–२ टिम मात्र छन् ।
पुरुषकै अन्य लिग खेलमा नेपाल आर्मीले प्रदेश ३ लाई २५–२१, २५–१९ र २५–१७ तथा नेपाल प्रहरीले प्रदेश ७ लाई २५–१८, २७–२५ र २५–१३ को सीधा सेटमा पन्छाए ।
रोल्पाको लिवाङ भइरहेको भलिबलको सर्वाधिक नगद पुरस्कार राशीको प्रतियोगिताअन्तर्गत महिलाको समूह ‘बी’ बाट प्रदेश ५ र समूह ‘सी’ बाट प्रदेश २ ले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । दुवै समूह विजेताका हैसियतले क्वाटरफाइनल पुगेका हुन् ।
प्रदेश ५ ले प्रदेश १ लाई २५–१५, २५–२३ र २५–१८ तथा प्रदेश २ ले प्रदेश ६ लाई २५–१८, २६–२४ र २५–२२ को सोझो सेटमा पन्छाए । दुवै समूहका पराजित टोली पनि उपविजेताका रुपमा क्वाटरफाइनलमा पुगे । यो समूहमा पनि २–२ टिम छन् ।
महिलाकै अरु लिगमा उपाधिको प्रबल दाबेदार एपीएफले प्रदेश ४ लाई २५–६, २५–२२ र २५–४ तथा प्रहरीले प्रदेश ७ लाई २५–७, २५–९ र २५–९ को सोझो सेटमा निराश पारे ।
प्रतियोगिताको सभामुख कृष्णबहादुर महराले एक कार्यक्रमबीच उद्घाटन गरे । सभामुख महराले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताए । राखेपका सदस्य–सचिव केशवकुमार विष्टले रोल्पामा शहिद रंगशाला निर्माण गर्ने सोच रहेको बताए ।
प्रतियोगितामा पुरुष÷महिला दुवैमा सात प्रदेश र तीन विभागीय गरी १०–१० टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरिएको छ । पुरुष÷महिला दुवैमा पहिलो हुनेले ३ लाख ५० हजार, दोश्रोले २ लाख र तेश्रोले १ लाख नगद पुरस्कार पाउने छन् ।