अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई परमाणु कार्यक्रम पुनः शुरु नगर्न चेतावनी दिएका छन् । यदि इरानले आफ्नो परमाणु कार्यक्रम पुनः शुरु गरेमा उसले ठुलो संकटको सामना गर्नुपर्ने ट्रम्पले बताएका छन् ।
अमेरिकाको भ्रमणमा रहेका राष्ट्रपति इम्यानुयल म्याक्रोंसँग ह्वाइट हाउसमा वैठकपछि आयोजित संयुक्त प्रेस सम्मेलनमा ट्रम्पले इरान सम्झौतालाई पागलपनको संज्ञा दिए ।
अमेरिका र फ्रान्सका राष्ट्रपतिले इरानको परमाणु कार्यक्रमलाई लिएर नयाँ सम्झौता हुन सक्ने संकेत दिएका छन् । ट्रम्पले पहिला पनि इरान र ६ शक्ती राष्ट्रबीचको परमाणु सम्झौतालाई सबैभन्दा खराब सम्झौता मध्यको एक बताएका थिए । ओबामा कार्यकालमा भएको उक्त सम्झौता खारेज गर्नका लागि ट्रम्पले मे १२ दिन निर्धारित गरिसकेका छन् ।
यसबीच जर्मनीका चान्सलर एन्जेला मर्केलपनि शुक्रबार अमेरिका जानेछिन् । उनले पनि ट्रम्पलाई इरानसँगको सम्झौता तोड्नबाट रोक्ने प्रयास गर्ने बताइएको छ ।
सम्झौता तोडेपछि इरानले आफ्नो परमाणु कार्यक्रम पुनः शुरु गर्न सक्छ भन्ने एक प्रश्नको जवाफमा ट्रम्पले उसका लागि पुनः शुरु गर्नु सहज नहुने बताए । ट्रम्पले भने– उसले पुनः केही पनि शुरु गर्ने छैन । यदि इरानले गर्छ भने उसलाई धेरै समस्याको सामना गर्नु पर्नेछ, जुन संकट उसले पहिला कहिल्यै पनि देखेको हुने छैन ।
इरानका विदेशमन्त्री जावेद जरिफले त्यसको प्रतिक्रिया दिँदै यदि अमेरिका पछि हट्छ भने इरानले पनि आप्mनो परमाणु कार्यक्रम सम्बन्धी प्रतिबद्धता तोड्न सक्ने एपीलाई बताए । उनले यसबाट अमेरिका आफ्नो प्रतिबद्धतामा अडिग नरहने प्रमाणित हुने र उसले उत्तर कोरियासँग हुन लागेको वार्तालाई पनि नोक्सान पुर्याउने बताए ।
यसअघि इरानका राष्ट्रपति हसन रुहानीले अमेरिका परमाणु सम्झौताबाट पछि हट्नुको परिणाम गम्भिर हुने चेतावनी दिएका थिए । त्यसको जवाफमा मंगलबार ट्रम्पले भनेका थिए– यदि इरान हामीलाई धम्की दिन्छ भने उसले पनि अन्य केही देशले चुकाउनु परेको मूल्य चुकाउनु पर्नेछ ।
फ्रान्सका राष्ट्रपति म्याक्रों तीन दिवसिय भ्रमणका लागि अमेरिका पुगेका हुन् । म्याक्रोंले राष्ट्रपति ट्रम्पसँग खुलेर कुरा भएको बताए । उनले इरानको चिन्ता दूर गर्न एउटा नयाँ सम्झौता बनाउन सम्भव भएको बतए ।
इरानसँग ६ सक्ती राष्ट युरोपली युनियन, रुस, चीन र जर्मनीले हस्ताक्षर गरेको पहिलाको सम्झौतामा तेहरान आफनो परमाणु कार्यक्रम स्थगित गर्न सहमत भएको थियो । यसको बदलामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध खुकुलो बनाइएको थियो ।
