आर्मी क्लबले मनाङक मस्र्याङदीलाई पराजित गर्दैै फाइनलमा आफ्नो स्थान सुरक्षित बनाएको छ ।
शनिबार भएको झापा गोल्डकपको दोस्रो सेमिफाइनल खेलमा आर्मीले मनाङलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
आर्मी फाइनलमा प्रवेश गरेसँगै उपाधिका लागि आयोजक टोली झापा–११ सँग प्रतिस्पधा गर्ने छ ।
आर्मीको जितमा राष्ट्रिय टोलीका स्ट्राइकर नवयुग श्रेष्ठको १ मात्र गोल निर्णायक बनेको थियो । नवयुगले खेल शुरु भएको दोस्रो मिनेटमै गरेको गोल नै आर्मीलाई फाइनल पुग्न पर्याप्त भएको थियो । नवयुगले पोस्टको दायाँबार च्याप्दै गरेको बलले जाली चुमेको थियो । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदीका लागि यस पटक सेमिफाइनलबाटै घर फर्किन बाध्य बनायो ।
४५औं मिनेटमा मनाङका सबै खेलाडी बिट भइसकेको अवस्थामा आर्मीका टंक बस्नेतले गोल गर्न सकेनन् । गोलकिपर दिनेश थापा मगरलाई क्रस गरेर प्रहार भएको बल पोस्ट नजिकैबाट बाहिरिएको थियो । नवयुगले २ पटक मनाङका सबै खेलाडी अगाडि बढेको अवस्थामा पाएको अवसरसमेत खेर फालेका थिए ।
यस्तै तीन विदेशी खेलाडीसहित मैदानमा उत्रिएको मनाङका लागि १० मिनेटमा भिक्टोरले गरेको प्रहार पोस्टमा लागेर फर्किएको थियो । २४औं मिनेटमा सुजल श्रेष्ठले गरेको क्रसमा बिमल रानाले डि बक्सबाट फितलो प्रहार गर्न पुगे । ५९औं मिनेटमा विशाल राईको क्रसमा अञ्जन विष्टले गरेको हेडर आर्मीका गोलरक्षक बिकेश कुथुले पन्च गरेर बाहिर फ्याँकिदिएका थिए । कुथुले म्यान अफ द म्याच घोषित हुँदै नगद २५ हजार रूपियाँ पुरस्कार हात पारेका थिए ।