आर्मीले जित्यो खप्तड गोल्डकपको उपाधि

0

नेपाल एपीएफ क्लबलाई पराजित र्गै त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल’को उपाधि हात पारेको छ । एपीएफलाई आर्मीले ट्राइब्रेकरमा ५(४ ले हराउँदै आर्मीले ११ लाख ११ हजार ११ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझाएको छ ।
आर्मीले पाँचौं पेनाल्टीलाई गोलमा परिणत गर्दा एपीएफका सुदीप शिखाकारले गोल गर्न सकेनन् । उनको प्रहार पोलमा लागेर फर्किएको थियो । आर्मीका नवयुग श्रेष्ठ, सन्तोष तामाङ, दीप लामा, दीपक गुरुङ र विवेक बस्नेतले गोल गरे । एपीएफका अञ्जन विष्ट, नवीन लामा, पासाङ लामा र रञ्जन विष्टले गोल गर्न सके । यो आर्मीको यस सिनको चौथो उपाधि पनि हो ।
प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि सोमबार पुरस्कार प्रदान गरिएको छ । प्रतियागितामा नेपाल एपीएप क्लबका खेलाडी अञ्जन श्रेष्ठ सर्वाधिक गोलकर्ता घोषित भए । एपीएफकै तोप विष्ट उत्कृष्ट रक्षपंक्तिका खेलाडी, आर्मीका विकेश कुथु उत्कृष्ट गोलरक्षक, आर्मीकै सन्तोष तामाङ उत्कृष्ट अग्रपंक्तिका खेलाडी घोषित भएका छन् । राइजिङ प्लेयरको पुरस्कार सुदूरपश्चिम ११ क्लबका अमानक शेषले पाए ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका त्रिभुवन आर्मी क्लबका खेलाडी भरत खवास सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहा कम्पनीको मोटरसाइकल पुरस्कार पाए । विजेता टिम र खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले पुरस्कार वितरण गरे ।
प्रतियोगिताको समापन गर्दै सुदूरपश्चिम ११ स्पोर्टस् क्लबका अध्यक्ष सुरेश हमालले प्रतियोगिताको तेस्रो संस्करणको पुरस्कार राशीको घोषणा गरेका छन् । उनले प्रतियोगितामा प्रथम हुनेले २१ लाख रुपैयाँ र दोस्रो हुनेले १० लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने जानकारी दिए ।