अर्बौं मूल्य पर्ने अस्पतालकै जग्गा गायब

0

यमलाल भुसाल
लुम्बिनी अञ्चल अस्पताल बुटवलको १ बिगाहा ५ कट्ठा साढे ६ धुर जग्गा हराएको छ । सरोकारवालाका अनुसार उक्त जग्गाको बजार मूल्य १ अर्ब १ करोड ३० लाख रुपिया“ भन्दा बढी पर्दछ ।

नापी कार्यालयको २०२७ सालको रेकर्डअनुसार अस्पतालको लालपुर्जामा साविक कित्ता नम्बर ६ मा ८ बिगाहा ४ कट्ठा ९ धुर जग्गा उल्लेख भए तापनि २०५१ मा ट्रायल चेक गर्दा अस्पतालको जग्गा ७ बिगाहा १६ कट्ठा पौने ४ धुर मात्र जग्गा देखिएको थियो । आजको नेपाल समाचारपत्र खबर छ ।

२०६३ माघ १५ गते भएको पुनः नापीमा अस्पतालको जग्गा ६ बिगाहा १० कट्ठा सवा १७ धुर मात्र भएको नापी कार्यालय बुटवलका नापी सर्वेक्षक राजीव बस्नेतले जानकारी गराउनुभयो ।

अञ्चल अस्पतालले नापी कार्यालय बुटवललाई २०७४ माघ २५ गते हराएको जग्गा खोजिदिन आग्रह गर्दै लिखित पत्र पठाएपछि मात्र अस्पतालको जग्गा हराएको सार्वजनिक भएको हो । अस्पतालले नापी कार्यालय बुटवललाई पठाएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय रुपन्देही, बुटवल उपमहानगरपालिका र मालपोत कार्यालयलाई समेत गराएको छ।

नापी कार्यालय बुटवलका सूचना अधिकारी कृष्ण पन्थीले अस्पतालको पूर्वतर्फ रहेको महेन्द्र राजमार्गतर्फ साविक जग्गा कित्ता नम्बर ६ को पूर्व–उत्तर कुनातर्फ ४ हजार ५ सय १४ दशमलव १७ वर्ग मिटर तथा अस्पतालको ठाडो उत्तर बीच भागमा सडकको पूरै भाग अर्थात् ३९ हजार ७ सय ९९ दशमलव ८० वर्गमिटर जग्गा सडकमा परेकाले अस्पतालको जग्गा कमी भएको बताउनुभयो ।

यस्तै अस्पतालको पश्चिम कालिका पथ निर्माण गर्दा समेत अस्पतालको साविक कित्ता नम्बर ६ मध्येकै जग्गा सडकमा परेको छ । पटकपटक गरिएको नापी सर्भेअनुसार हराएको सबै जग्गा अस्पताल वरिपरिकै राजमार्ग र अन्य सडकमा पर्न गएको देखिन्छ ।

नापी कार्यालयका प्रमुख ध्रुव मरासिनीले अस्पतालको जग्गा कुनै व्यक्ति विशेषले अतिक्रमण नगरेको तर सडक निर्माण गर्दा सडकको मापदण्डअनुसार किनारका जग्गा धनीले छाड्नुपर्ने जग्गा नछाडी पूरै अस्पतालको जग्गामा मात्र सडक निर्माण गरिएकाले अस्पतालको जग्गा घट्न गएको बताउनुभयो ।

नापी कार्यालयका अनुसार अस्पताल लाइन, नेपालगञ्जरोड र कालिका पथको सडक पूरै अस्पतालको जग्गामा बनेका छन् । ती सडक निर्माण तथा विस्तार हु“दा तत्कालीन अस्पताल विकास समिति र अस्पताल प्रशासनको कमजोरी र बेवास्ता गरेका कारण सबै सडक अस्पतालको जग्गामा निर्माण तथा बिस्तार गरेर सडक किनारका जग्गा धनीहरु आफ्नो जग्गा जोगाउन सफल भएको देखिन्छ । सडक मापदण्डअनुसार सडक निर्माण गर्दा वा विस्तार गर्दा सडकको बीच भागलाई केन्द्र मानेर दुवैतर्फ बराबरी छोड्नुपर्ने प्रावधान छ ।

तर अस्पताल वरपरको सडक निर्माण गर्दा सडकको मापदण्डअनुसार काम भएको देखि“दैन । तत्कालीन अवस्थामा सडक विभाग तथा सरोकारवाला सबै पक्षको मिलेमतो र नियोजित ढंगले पूरै सडक अस्पतालको जग्गामा निर्माण गरिएकाले अस्पतालले अर्बौं मूल्यको जग्गा गुमाउनुपरेको छ ।

विसं २०४५ सालदेखि अहिलेसम्म १४ जनाले उक्त अस्पताल विकास समितिमा अध्यक्षको जिम्मेवारी सम्हालेको देखिन्छ । नेतृत्व सम्हाल्नेमा क्रमशः लालकाजी गुरुङ, सूर्यप्रसाद प्रधान, वसन्तध्वज जोशी, दामोदर ज्ञवाली, भीम तुलाचन, जनक कोइराला, द्वारिका उदय, बाबुराम भट्टराई, प्रकाशचन्द्र श्रेष्ठ, रामबहादुर कार्की, राजेन्द्र गुप्ता र डा. प्रायश्चित श्रेष्ठ हुनुहुन्छ । उहा“हरू राजनैतिक नियुक्तिका सो जिम्मेवारीमा आउनुभएको हो भने युवा व्यवसायी रमेश खनाल अहिले अध्यक्षमा बहाल हुनुहुन्छ । अस्पतालको विकास, उन्नति, प्रगति र भएको सम्पत्तिको संरक्षण गर्ने जिम्मेवारीसहित जिम्मेवारी सम्हालेका व्यक्तिहरुले जग्गा खोज्न पहल नगरेको भन्दै सरोकारवालाहरूले असन्तुष्टी जनाएका छन् । तर अध्यक्ष खनाल र मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले आफूहरूको पहलमा सो जग्गा खोजविनका लागि नापी कार्यालयमा पत्र पठाइएको दावी गर्नुभयो ।